होमप्रसाद लम्साल
मलाई मतदाता हुनुको उत्साह भन्दा पनि संसारले उत्तम लोकतन्त्रको उदाहरण दिईने अमेरिकी चुनावमा प्रत्यक्ष सहभागी भएर त्यहि उत्तम लोकतान्त्रिक अभ्यासको चुनाव हेर्नु थियो । त्यो दिन अर्थात नोभेम्वर ८ को दिन । त्यो दिन मैले मतदान गरेको मतदान केन्द्रबाहेक अरु तीन वटा मतदान केन्द्रमा चुनाव हेर्न पुगे । मैले मेरो जीवन कालमा भोगेको र अनुमान गरेको भन्दा आकास पाताल फरक पाए ति मतदान केन्द्रहरुको दृष्य । अनि मलाई लाग्यो लोकतन्त्र भनेको यस्तो पो हुने रहेछ । न कसैको प्रभाव, न कसैको डर नत केहि पाउने आशा । आशा त केवल यो उम्मेदवार हाम्रो लागि काम गर्न योग्य छ । यो चुनावको अनुभव म कलमजीवि र राजनीतिप्रति जिज्ञासु पनि भएको नाताले मैले मेरो कर्मभुमि र मातृभुमिको (मसिर ४मा) हुन लागेको चुनावको सन्र्दभमा अनुभव साट्दा उपयुक्त हुन्छ भन्ने लाग्यो र अनुभव केहि कोरे ।
मेरो जीवनकालमा (नेपालमा) प्रत्यक्ष संलग्न भएको थुप्रै चुनावको तस्वीर मेरो मानसपटलमा छर्लंग छ । किनकी म राजनीतिमा परोक्ष वा प्रत्यक्ष थुप्रै पटक सक्रिय सहभागी भएको छु । मैले गाविसदेखि, सांसद र पार्र्टीको आन्तरिक भनौ वा विभिन्न संघ संस्थाहरुको चुनावमा साम, दाम, दण्ड सबै प्रयोग भएको आफ्नै आँखाले देखेको छु र कतिपय भोगेको पनि छु । अमेरिकाका सकिदै गर्दा नेपालमा चुनाव हुँदै छ । गाँउ ठाउँ समाज अर्थात साथीभाई म अमेरिकामा छु र पनि नेपालमा मेरो मनहरु घुमी रहेका छन । हो त्यहि अनुभवलाई मनमा लिएर अमेरिकी चुनावमा सहभागी भए । मैले विगतमा पनि अमेरिकी चुनाव हेरेको थिए चाहे फोन व्याकिड (फोन गरेर मत माग्ने) वा घरघरमा नमुना मतपत्र पुर्याएर होस ।
८ नोभेम्बरको बिहान मतदान केन्द्र यता भनेर देखिएका सिग्नल पछ्याउँदै मतदान केन्द्र पुग्नु पर्दथ्यो, कारण मतदान केन्द्र नजिक नत हुलमुल थियो नत सुरक्षाकर्मीहरुको उपस्थिति नै । मतदान केन्द्र पुग्दा मेरो मानसपटलमा रहेको र यो चुनावमा देखिएका दृष्य केहि कुराको पनि तुलना गर्ने विषय नै पाईन । आश्चर्य मान्दै मतदान केन्द्र पुगे, त्यहाँ मतदान केन्द्र हो की शोक सभा हो छुट्याउन मुस्किल पुर्यो । किनकी अमेरिकामा प्रायजसो मदतान केन्द्र चर्चमा हुन्छ जहाँ मानिसहरुको अन्तिम सस्कार गरिन्छ । बाँकी अरु स्थानहरुमा पनि हुन्छ । केहि थान मानिसहरु मैले भोट गरे लगाएको स्टीकर लगाएर फर्किदै थिए भने केहि मानिसहरु हातमा कागजको चिर्कटो लिएर मतदानस्थल तिर गईरहेको देखे । मैले ठाने यहि स्थान हुनुपर्दछ मतदान गर्ने भन्दै पछ्याउँदै म पनि छिरे । केहि थान टेबुलमा उमेरले ६० काटेका जस्ता देखिनेहरु तपाई मतदान गर्ने हो भन्दै सोधिरेहेका थिए र मतदान गर्न आउनु भयो धन्यवाद भनिरहेका थिए । तिनीहरु निर्वाचन कार्यलयका कमचारी थिए । थर सोधेर मतदाता नामावलीमा मेरो नाम खोजेर तपाईको ठेगाना यहि हो भनेर मलाई मतपत्र थमाए । संगै मलाई मतदान गर्ने प्रक्रिया पनि सिकाए । मतदान केन्द्र होस वा हलभित्र न हुल छ नत परिचय पत्र कार्ड नै भिडाए, त्यहाँ नत तार बार गरेर छेकिएका छन नत परिवेक्ष भनौदा दलका हनुमानहरुनै । प्लाष्टिक बोर्डमा मतदान स्थल लेखिएका छन । त्यहाँ मतदान गर्न गएको हो वा को हेर्न गएका हुन छुट्याउन सकिने कुनै सीमा छैन । तपाई त्यो बुथमा गएर मतदान गर्नुस अनि त्यहाँ मतपत्र खसाएर यो बाटो हुँदै बाहिर जान सक्नु हुन्छ भन्ने नरम भाषामा जानकारी दिए । मतपत्रमा चिनो लगाएँ अलि परको बाकसमा हाले । कसकसलाई मतदान गरे र कसले जितेछन भन्ने आन्तरिक जानकारीको लागि फोटो पनि खिचे । किन की मैले मतदान गर्दा सिनेटरदेखि न्यायधिष हुँदै विधालय व्यवस्थापन समितिलाई मतदान गर्नु पर्दथ्यो । बाकसमा मतपत्र हाल्दा हाल्दै मत गनिदो रहेछ सायद, किनकी मैले हालेको मतपत्र बाकसले स्क्यानिड गर्दै खसायो । मैले मतदान केन्द्रबाट भित्र छिरेर मतदान गरेको समय बढीमा तीनदेखि पाँच मिनेटमा सबै सकियो । मलाई नत लाईन बस्नु पर्यो नत कसैलाई नमस्कार नै । मलाई खुलदुली लागी रह्यो यहाँ मात्रै यस्तै हो की अन्त पनि यस्तै होला भन्दै बाहिर निस्किए । मलाई त्यहाँ बस्नु पनि थिएन कारण न त्यहाँ मेरा साथीहरु थिए न त चुनावी कुरा गर्ने वातावरण नै । आए मतदान गरे आफ्नो बाटो लागि रहेका थिए ।
म त्यहि चित्र आँखामा बोकेर अर्को मतदान केन्द्रमा पुगे त्यहाँ पनि अवस्था उस्तै छ । दुइचार जना आउँदै जाँदै गरेको भन्दा बढी केहि छैन । मलाई त्यतिले नि चित्त नबुझेर नजिकैको अर्को मतदान केन्द्र पुगे जुन अलि शहरी क्षेत्र । मलाई लाग्यो सबै स्थानमा उस्तै रहेछ । अलि शहरी क्षेत्रमा थोरै बढी मानिस छन बाँकी सबै स्थानमा उस्तै पाए । यति भएपछि म आफ्नो नियमित काममा फर्किए । मनभरी अमेरिकी चुनाव र नेपाली चुनावको तुलना गरी रहे केहि पनि कुरा उस्तै छैन । मतदान केन्द्रमा कहि कतै परिवेक्षकको नाममा दलका कार्यकर्ता कहि देखिन । न कसैले यो चिन्हमा मतदान गर नै भने । कहि कतै चौरमा गाडिएका मत मागिएको पोष्टर थिए । कहि कतै भोलुन्टर गर्न बसेकाहरुले अनुरोधको शैलिमा मत माग्थे । बाँकी मतदानको दिन जस्तो पनि लागेन । काममा रहेको बेला मैले भोट गरे भन्ने स्टीकर टाँसेर आएकालाई सोधे । केहि भोट नहालेकाहरुलाई पनि सोधे । मतदान गर्नेले पनि खासै मतहाले भन्दा बढी बोलेनन र नहाल्नेले भने आफुलाई फुर्सद नभएको, राजनीतिमा चाहना नभएको बताए । केही मानिसहरुसंगको कुराकानीबाट के निस्कर्ष निकाल्न सकिन्थ्यो भने जो जितेर जान्छन उनिहरुले देश र जनताका लागि मात्र काम गर्दछन भनेर ढुक्कसंग विश्वास गर्थे ।
मतदाता रजिष्टर गरेपछि आफुले मतदान गर्ने व्यक्तिहरुको बारेमा सबै उम्मेदवारहरुको वायोडाटासहितको फ्लायर मेरो मेलबक्समा आयो । अध्ययन गर्नेहरुका लागि त्यो नै उपयूक्त छ । निर्वाचन आयोगको बेब साईटमा गएर आफ्नो नाम हान्ने वित्तिकै आफुले गर्ने मतदानको लागि नमुना मतपत्र भेटिन्छ । कुन पार्टीमा आवद्ध हुने वा नहुने आफ्नो खुसी तर दलसंग आबद्ध हुनेहरुले पनि व्यक्तिहरु छानेर मतदान गरिहेका हुन्छन । आफ्नो पार्टीको भन्दैमा सबैले सबैलाई मतदान गर्दैनन ।
अमेरिकामा मतदान गर्न अनलाईन, घरमा नै मतपत्र मागेर गरिने मतदान र मतदान केन्द्रमा गएर मतदान गर्न सकिन्छ । त्यसमा पनि एक हप्ताभन्दा अघिदेखि मतदान अग्रिम मतदान शुरु हुन्छ । मतदाता राजिष्टर गरेपछि संसारको जुन कुनामा भएपनि मतदान गर्न पाईन्छ । त्यति मात्रै होईन टेक्सास राज्यमा सन् १९९७ मा पारित टेक्सासको कानुनले अन्तरिक्षमा रहेका अमेरिकी अन्तरिक्ष यात्रीहरूलाई संघीय चुनावमा अन्तरिक्षबाट नै इलेक्ट्रोनिक रूपमा मतदान गर्न अनुमति दिन्छ । उनीहरूले विद्युतीय रूपमा खसालेका मतपत्रहरू सुरक्षित इमेलमार्फत जोन्सन स्पेसफ्लाइट सेन्टरमा पठाइन्छ र त्यसपछि अन्तरिक्षयात्रीहरूको गृह काउन्टी टेक्सासमा पठाइन्छ ।
अमेरिकी चुनावमा आचारसहिता व्यापक र निकै महंगो जरिवानासहित हुन्छ । उम्मेदवारहरुले चन्दा लिंदा होस वा उसले गर्ने खर्च पारदर्शी हुन्छन । उसले बदमासि गरेको पाइएमा उसको राजनीतिक मात्रै होईन सार्वजनिक जीवन पनि सधैका लागि समाप्त हुन्छ । कामको शिलशिलामा दिनहुँ दुइपटक यात्रा गर्ने एउटा हाईवेमा १५ मिनेटको दुरीमा तीन वटा ठुला ठुला विधुतीय होडिड बोर्ड छ । त्यसमा राष्ट्रपतिलाई मा …मु कै शैलीमा फोटोसहित गाली प्रसारित विज्ञापन छ । त्यस्तै प्रकारका गाली गरेको टिसर्ट लगाएर हिडेका मानिसहरु पनि देखिन्छन । पछिल्ला दिनहरुमा बढेको महंगीका कारण राष्ट्रपति आलोचित छन र त्यस्ता होडिड बोर्डहरु सडकमा प्रसस्तै भेटिन्छन । अनि मैले संझे मेरो मातृभुमिमा भैरहेको चुनावमा नो नट अगेन भन्दा निर्वाचन आयोगले गरेको चाकडीपुर्ण प्रतिपाद शैलीे रोकथामलाई संझे । ठुला नेताहरु होस वा वर्गलाई केहि व्यंग्य गरेको नाममा कमेडियन होस वा पत्रकारलाई जेलसम्म पुगेको संझे ।
जनता सर्बमान्य हुन भने उनिहरुले कानुनको पुर्ण पालना गर्दै आफ्नो अभिव्यक्ति स्वतन्त्रता पुर्ण रुपमा प्रयोग गर्न पाउनु पर्दछ । अमेरिकामा त्यसैले भनिन्छ व्यक्तिगत स्वतन्त्रताको नमुना नै छ भन्दा फरक पर्दैन । कुनै उम्मेदवारलाई चन्दा दिदा पाँच सय भन्दा बढी दिन खोज्दा तपाईको आम्दानी अनुसार दिनुहोला भनेर उम्मेदवार आफैले भन्छन । कसैले पनि आम्दानी भन्दा बढी चन्दा दियो भने उसको आम्दानी र कर चुक्ताको ईतिहास पनि हेर्न सक्छ र आम्दानी भन्दा बढी देखिए कानुनी दायरामा ल्याईन्छ ।
त्यसैले त अमेरिकी चुनावहरुमा दुई कार्यकालभन्दा बढी कोहि राष्टपति हुँदैनन जनअपेक्षा अनुसार गर्न सकनेन भने एक कार्यकालमा नै पाखा लगाइएको उदाहरण निवर्तमान राष्ट्रपटि डोनाल्ड ट्रम्प हुन र अरु पनि छन । त्यहि अवस्था स्थानीय तहमा पनि देखिन्छ । उनिहरु नैतिक रुपमा पनि यतिधेरै जनताप्रति उत्तरदायी हुन्छन की राजनीति पुर्ण रुपमा समाज सेवा हो भन्ने ठान्छन । कतिसम्म भने कोही उम्मेदवार जीतेर संसदमा गएपछि उसले आफ्नो मतदाताबाट आफ्नो कार्यकालभरी २५ डलर भन्दा बढीको उपहार लिन पाईन्न । लिइको पाइए कारबाहीको भागीदार हुनु पर्दछ । कारण चुनाव जितेपछि आफ्नालाई मात्रै केहि नगरोस र कसैको प्रलोभनमा नपरोस भन्नका लागि हो ।
अमेरिकी चुनावमा सहभागी हुँदा मेरा मनमा अनेकौ प्रश्नहरु आफैलाई उत्तर खोजिरहेका थिए । विगतमा मतदान केन्द्रमा गरेको मतदाता प्रभाव पार्ने नाममा धम्क्याएको होस वा प्रभावमा पार्न आर्थिक परिचालन गरेको भनौ या पुर्ण विश्वास नभएकाहरुलाई आखाँ ठहर्याउन सक्दिन भन्न लगाएर उमेदवार आफैले मतदान गरेको । त्यहि मात्र कहाँ होर आफुलाई मत नहाल्ने निश्चित भएका कमजोर ठानिएकाहरुलाई मतदान गर्न बन्चित गरेर फर्काइएका र चुनावको अघिल्लो दिन बोराका बोरा चामल र खसी बोका वा मदिरा वा पैसाको छलोखेलो बनाइएको थुप्रै मेरा आखाँ अगाडी घुमिरहेको छ । आफ्नो पक्षलाई विहानै मतदान गर्न लगाएर अर्को पक्ष आउँदै गर्दा बीच बाटैबाट फर्काइएको, त्यो भन्दा पनि पार्टीगत नाममा नातागोता र मर्दा पर्दा पनि पानी बाराबार भएर तल्लको घर माथिल्लो छिमेकमा झगडा भएको त्यो घटना मेरो मानस पटल घूमी रहेको छ । चुनावका नाममा हुने आर्थिक चलखेलको कुरै नगरौ । अबको केहि दिनमा निर्वाचन हुँदै छ । मेरो यो अनुभव मेरा नेपालका मित्रहरुका लागि कथा जस्तो लाग्न सक्दछ तर पनि लोकतन्त्रको उच्चतम अभ्यास भनेको सायद यहि होला । यसको मतलव अमेरिकामा पनि केहि नराम्रा चुनावी अनुभव छन । अघिल्लो कार्यकालमा राष्ट्रपनि डोनाल्ड ट्रम्पले गराएको भनिएको ह्वाईट हाउस आक्रमण होस वा काला मतदातामाथी गरेको व्यवहार । पुर्वराष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा पत्रकार होस वा आफुलाई मननपर्ने व्यक्ति वा समुहमाथी गर्ने गरेको व्यवहारले अमेरिकी लोकतन्त्रको कालो पक्ष हो । त्यसो हुँदा अमेरिकामा पनि लोकतान्त्र खतरामा छ भन्ने बहस पनि शुरु नभएको होईन तर पनि विश्वलाई लोकतन्त्रको पाठ सिकाउने अमेरिकी निर्वाचन छिठपुठबाहेक अनुसरण गर्न योग्य नै छ ।
संसारका जुन सुकै चुनावको उदेश्य कानुन बनाउन र देश विकास गर्ने योजना तर्जुमा गर्न नेतृत्व छान्ने हो । इतिहासले देखाउँछ कि मानव जातिले पाँच हजार वर्षदेखि औपचारिक रूपमा कानुन बनाएर लागु गर्दै आएको छ । विभिन्न समाजमा यस्तो कानुन बनाउन फरक उपायहरू अपनाइएका छन् । यसमा भगवान्को अंश मानिने राजाहरूले जारी गर्ने आदेशहरूदेखि गाउँका वासिन्दाहरूले आपसमा छलफल गर्दै बहुमतको आधारमा गरिने निर्णयहरू पर्दछन् ।
अमेरिकामा अनेकौं स्तरमा कानुन निर्माण गरिन्छ । स्थानीय नगर परिषद्हरूदेखि राज्य विधायिकासम्म र त्यसपछि अमेरिकी कांग्रेसले कानुन बनाउँछन् । तर, यी सबै तहहरूमा, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आमनागरिक समूहको ठूलो योगदान रहन्छ । कानुन निर्माण गर्ने निकायहरूले आफू आफ्नो निर्वाचन क्षेत्रका जनताप्रति जवाफदेही रहेको कुरालाई हरदम महसूस गरिरहेका हुन्छन् । यदि उनीहरूले आम जनताको सर्वोत्तम हितलाई दृष्टिगत गरी कानुन बनाएनन् भने उनीहरूले आउँदो चुनावमा अवश्य हार भोग्ने गरेको ईतिहास छ । त्यसैमा सबै विश्वस्त भएर जनताका लागि अहोरात्र काम गर्दछन ।
तत्कालिन अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले अमेरिकी इतिहासमै शायद सबभन्दा प्रसिद्ध पदावलीमा लोकतन्त्रको जोडदार परिभाषा दिएका थिए । “जनताको, जनताद्वारा र जनताका लागि बनेको सरकार” भन्ने आफ्नो भनाइबाट उनले लोकतान्त्रिक सरकारको स्वरूपलाई यति राम्ररी परिभाषित गरिदिए कि यी सारा कुरा एउटा लोकतान्त्रिक समाजको आकाङ्क्षा राख्ने सम्पूर्ण राष्ट्रहरूका लागि सान्दर्भिक ठहरिन्छन् ।
राजनीतिक तप्कामा सहभागी हुने गरेका अमेरिकीहरु सरकारका सम्पूर्ण स्वरूपहरूमध्ये लोकतन्त्र कठिन, संभवतः सबभन्दा जटिल र चुनौतीपूर्ण हुन्छ भन्ने उनिहरुको मुल मर्म ठान्छन । यो अनेकौं किसिमका तनाव र विरोधाभासहरूले भरिएको हुन्छ र यसमा लागेकाहरूले यसलाई कार्यरूप दिन निरन्तर खटिइरहनु पर्दछ । लोकतन्त्रको परिकल्पना फटाफट चाहे जस्तो गरी काम हुन सकोस् भन्नाका लागि नभई जवाफदेही रूपमा काम होस् भन्नका लागि हो भन्दछन । कुनै पनि लोकतान्त्रिक सरकारले एउटा तानाशाही सत्ताले जत्तिकै छिटो गरी काम गर्न सक्षम नहुन सक्छ, तर जब एउटा कार्यविधि तय गरिन्छ त्यसले आम जनसमर्थनको गहिरो तलाउबाट शक्तिस्रोत प्राप्त गर्दछ भन्ने मान्यता अमेरिकी राजनीतिज्ञहरुसंग छ । उनिहरुको एउटा उक्ति छ लोकतन्त्रले देखिने यसको स्वरूपले कहिल्यै पनि आफ्नो अन्तिम चित्र बनाइसकेको हुँदैन, यो निरन्तर विकसित भइरहन्छ । गत दुई शय वर्षमा अमेरिकी सरकारको बाहिरी रूपमा कमै मात्र परिवर्तन भएको देखिन्छ, तर यदि सतहभन्दा अलि गहिरिएर हे¥यौं भने यसमा प्रशस्त फेरबदलहरू भएको फेला पार्नेछौं भन्ने कुराहरुलाई आत्मसाथ गर्दछन । तैपनि, अधिकांश अमेरिकीहरूले जायज रूपमै के विश्वास गर्दछन् भने उनीहरूको सरकारको बारेमा अन्तर्निहित सिद्धान्तहरू सन् १७८७मा संविधानका निर्माताहरूले पहिलोपल्ट अभिव्यक्त गरेका सिद्धान्तहरूबाटै अनुप्रेरित छ ।
देशको शासन प्रणाली जतिसुकै राम्ररी तर्जुमा गरिएको भए पनि यसलाई तबसम्म लोकतान्त्रिक मान्न सकिन्न, जबसम्म सरकारको नेतृत्व गर्नेहरूलाई जनताले स्वतन्त्र रूपमा र सबैले सहभागी भएको अनुभव हुने गरी चुनाव गरेर छानेका हुँदैनन् । चुनावको प्रक्रिया फरक फरक हुन सक्छ, तर सारभूत कुरा चाँहि सम्पूर्ण लोकतान्त्रिक समाजका लागि उस्तै हुन्छन । योग्यता पुगेका सम्पूर्ण नागरिकहरूले मतदान गर्न पाउनुपर्छ, मतदान गर्दा प्रत्येक व्यक्तिलाई अनुचित प्रभावबाट सुरक्षित राख्नु पर्दछ र खसेका मतहरूको खुला र दुरुस्त गणना गरिनुपर्दछ भन्ने अमेरिकी सिद्धान्त वास्तवमै लोकतान्त्रिक मियो मान्न लायक छ ।