अमेरिका उडान गर्न चाहने यात्रुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने भएको छ । त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिनअगाडिको हुनुपर्ने अधिकारीहरूले जानकारी दिएका छन् । यात्रा अनुमति पास (बोर्डिङ पास) लिनुअगाडि नै कोरोनासम्बन्धी रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरिएको हो ।
यात्रा गर्नुपूर्व कोरोना नेगेटिभ रहेको प्रमाण देखाउनुपर्ने व्यवस्था अमेरिकी वा गैरअमेरिकी सबै नागरिकलाई लागू हुने अधिकारीहरूले जनाएका छन् । अमेरिकी केन्द्रीय रोग नियन्त्रण केन्द्रले २६ जनवरीदेखि यस्तो व्यवस्था कार्यान्वयनमा आउने जानकारी दिएको छ । ‘दुई वर्ष वा त्योभन्दा बढी उमेर भएका सबै यात्रुले अमेरिकी प्रवेश गर्नुअघि कोरोना भाइरसबाट संक्रमित नभएको वा कोरोना भाइरसबाट संक्रमणमुक्त भइसकेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ,’ राज्य विभागद्वारा जारी वक्तव्यमा लेखिएको छ । यस्तो प्रमाण पेस गर्न नसक्नेहरूलाई बोर्डिङ पासको व्यवस्था गर्न नसकिने उनीहरूले स्पष्ट पारेका छन् । ‘यदि तपाईंले अन्तर्राष्ट्रिय उडानको योजना बनाउनुभएको छ भने तपाईंले बढीमा तीन दिनअगाडिको कोरोना नेगेटिभ भएको प्रमाण पेस गर्नुपर्छ,’ वक्तव्यमा उल्लेख छ ।
न्यूनीकरण केन्द्रले यही २१ जनवरीमा यो व्यवस्था लागू गर्नेसम्बन्धी निर्णय गरेको थियो ।