अमेरिकी राष्ट्रपति जो बाइडेनले ८० मिलियन डोज कोरोनाबिरुद्ध भ्याक्सिन अन्तर्राष्ट्रिय समुदायलाई प्रदान गर्ने घोषणा गरे लगत्तै अमेरिकाले कुनै देशलाई पक्षमा पार्न भ्याक्सिन नदिने बरु ८० मिलियन डोज भ्याक्सिन कोभ्याक्समार्फत प्रदान गर्ने ह्वाइटहाउसले स्पष्ट पारेको छ । जस अनुशार अमेरिकाले कुनै देश विशेषलाई वा कुनै देशलाई आफ्नो पक्षमा पार्न वा आफ्नो समर्थनमा रहेका देशलाई सिधै भ्याक्सिन प्रदान नगरी विश्व स्वास्थ्य संगठनको कोभ्याक्समार्फत भ्याक्सिन सहयोग गर्ने भएको छ ।
विश्व स्वास्थ्य संगठनको कोभ्याक्स मार्फत भ्याक्सिनको न्यायसंगत वितरण र विज्ञान तथा सार्वजनिक स्वास्थ्यका तथ्यांक अनुशरणको सुनिश्चित गर्न कोभ्याक्स र अन्य साझेदारहरुसँग काम गर्ने अमेरिकाले जनाएको छ । ह्वाइट हाउसले भनेको छ – ‘अमेरिकाले अन्य देशहरुबाट आफ्नो पक्षमा समर्थन प्राप्त गर्नका लागि भ्याक्सिनको प्रयोग गर्नेछैन ।’
चीनले देशसँगको सम्बन्ध विस्तार र सुधारका लागि सिधै भ्याक्सिन सहयोग गर्दै भ्याक्सिन कूटनीति अपनाइरहेको सन्दर्भमा अमेरिकाले भने भ्याक्सिनलाई कुनै देशसँगको कूटनीतिक सम्बन्धका सन्दर्भमा प्रयोग नगर्ने भएको छ । भारतले पनि भ्याक्सिन कुटनीति अन्तरगत नेपाललाई भ्याक्सिन सहयोग गरेको थियो ।
राष्ट्रपति बाइडेनले अमेरिकामा प्रयोगका लागि स्वीकृति पाएका मोडेर्ना, फाइजर र जोन्सन एण्ड जोन्सनका २० मिलियन डोज भ्याक्सिन अन्तर्राष्ट्रिय समुदायसँग बाँड्ने घोषणा गरिसकेका छन् ।
जुन महिनाको अन्तिमसम्म ती भ्याक्सिन अमेरिकाबाट कोभ्याक्समार्फत पठाइने भएको छ । यो विश्वका कुनै पनि मुलुकले अन्तर्राष्ट्रिय समुदायलाई दिएको भ्याक्सिनभन्दा भन्दा पाँचगुणा बढी हो ।
बाइडेनले यस अगाडि नै ६० मिलियन डोज आष्ट्राजेनेका भ्याक्सिन अन्तर्राष्ट्रिय समुदायलाई बाड्ने घोषणा गरिसकेका छन् । यो २० मिलियन त्यसका अतिरिक्त हो । अमेरिकामा आष्ट्राजेनेका भ्याक्सिनले भने प्रयोगको स्वीकृति पाइसकेको छैन ।