अमेरिकाका टेक्साससहितका धेरै राज्यहरू हिमआँधीले वितण्डा मच्चाएको छ। हिमआँधीमा परेर कम्तिमा पनि २० जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
टेक्सासहितको केही राज्यमा घण्टौँदेखि बिजुली पनि बन्द भएको छ। केन्टुकी, मिजौरी, नर्थ क्यारोलाइनालगायतका राज्यमा आँधीको ठूलो असर परेको छ।यसले त्यहाँका बासिन्दालाई ठूलो विपत्ति निम्त्याएको छ। त्यहाँको परिस्थिति अन्धकार बनेको छ। सबैभन्दा खराब स्थिति टेक्सासको छ। त्यहाँ लगभग ५० लाख घरहरु अन्धकारको सामना गरिरहेका छन्। यसमा व्यवसायिक संस्थाहरूका घरहरू समावेश छन्।
भारी हिमपातका कारण खोप प्रक्रिया पनि प्रभावित भएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन्। मेडिकल सेन्टर र अस्पतालहरूमा समस्याहरू बढेका छन्। देश भर ३ हजार उडानहरू रद्द गरिएको छ। टेक्सासको उर्जा आपतकालिन अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति जो बाइडेनले सकेसम्म सहयोग पुर्याउने आश्वासन दिएका छन्।
बीबीसीका अनुसार मंगलबारसम्म अमेरिकाको ७३ प्रतिशत भूभाग हिउँले ढाकिएको छ । आँधीका कारण टेक्सास राज्यमा मात्रै ४० लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । टेक्सासको तापक्रम ३ दशकयताकै कम अर्थात् माइनस १८ डिग्री सेन्टिग्रेट पुगेको छ । गभर्नर ग्रेग अब्बोटले अवस्था निकै भयावह भएको जनाएका छन् । ‘यो अस्वीकार्य छ,’ उनले भने । उनले विद्युत् आपूर्ति बन्द भएको विषयमा छानबिन गरिने जनाएका बीबीसीले उल्लेख गरेको छ ।
सुगरल्यान्ड सहरमा घरभित्र बालेको आगो फैलिएपछि मंगलबार बिहान ३ बालबालिकासहित एक महिलाको मृत्यु भएको छ । त्यस्तै ह्युस्टन सहरमा पनि कम्तीमा ४ जनाको मृत्यु भएको जनाइएको छ । त्यसैगरी, ह्युस्टनकै राजमार्ग छेउमा २ जनाको शव भेटिएको छ । प्रहरीले उनीहरूको चिसोका कारण मृत्यु भएको जनाएको छ । नर्थ क्यारोलिनामा कम्तीमा ३ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । दक्षिणी टेनेसीमा पनि एक जना १० वर्षीय बालकको चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकूल मौसमका कारण धेरैवटा कोभिड–१९ का खोप केन्द्रहरू पनि बन्द गर्नुपरेको छ । खोप ढुवानीमा समेत समस्या उत्पन्न भएको छ । अमेरिकाका दक्षिण तथा मध्यपश्चिमी क्षेत्रमा केही दिनभित्र अर्को आँधी आउने अधिकारीहरूले चेतावनी दिएका छन् ।