अमेरिकामा सभामुख छान्न ६ पटक चुनाव हुँदा पनि बहुमत पुगेन किन ?

अमेरिकी तल्लो सदन प्रतिनिधिसभा (हाउस अफ रेप्रिजेन्टेटिभ्स)मा ६ चरणमा मतदान हुँदा पनि सभामुख चयन हुन सकेका छैनन् । मंगलबार र बुधबार ६ पटक सभामुख चयनका लागि गरिएको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् ।

अमेरिकामा गत नोभेम्बरमा भएको मध्यावधि चुनावको नतिजाअनुसार रिपब्लिकन सांसद केभिन म्याककार्थी सहजै सभामुखमा विजयी हुने आंकलन गरिए पनि उनले आफ्नै दलका सांसदको समर्थन जुटाउन सकेका छैनन् ।

हाउस अफ रेप्रिजेन्टेटिभ्समामा रिपब्लिकनका २२२ र डेमोक्रेटिकका २१२ सांसद छन् । समाभुख चुनिनका लागि २१८ भोट चाहिन्छ । तर म्याककार्थीले २०३ भन्दा बढी मत कटाउन सकेका छैनन् । पहिलो चरणमा २०३ भोट पाएका म्याककार्थीले छैटौं चरणसम्म आइपुग्दा त्योभन्दा कम २०१ भोट पाएका छन् ।

रिपब्लिकन पार्टीकै २० सांसदले बाइरन डोनाल्डलाई भोट दिएका छन् । डेमोक्रेटिक पार्टी भने एकढिक्का देखिएको छ । डेमोक्रेटिक उम्मेदवार हकीम जेफ्रिजले २१२ भोट पाएका छन् । सन् १९२३ मा सभामुख चयन गर्न ९ पटक मतदान गरिएको थियो भने त्यसअघि १८५६ मा १३३ पटक मतदान भएको थियो । १९२३ यता पहिलो पटक अमेरिकामा सभामुख चयनका लागि धेरै चरणमा मतदानमा जानु परेको हो । बिहीबार पुन: चुनाव हुने बताइएको छ ।

अमेरिकी सभामुखको निर्वाचनलाई लिएर टिकाटिप्पणी भएपछि राष्ट्रपति बाइडेनले रिपब्लिकन पार्टीलाई सहमतिमा जान आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यो राम्रो होइन । यो संयुक्त राज्य अमेरिका हो र मलाई आशा छ रिपब्लिकनहरूले सहकार्य गर्नेछन् ।’ उनले सभामुख चयन प्रक्रिया लम्बिँदा लज्जित हुन परेको पनि बताएका छन् । उनले भनेका छन्, ‘त्यो मेरो समस्या होइन तर यो लम्बिनु भनेको लज्जित हुनु हो ।’

सभामुख नभएकाले नोभेम्बरमा निर्वाचित भएका सांसदले शपथ समेत लिन पनि पाएका छैनन् । उनीहरू अहिले पनि ‘रेप्रिजेन्टेटिभ्स इलेक्ट’ का रूपमा रहेका छन् । अमेरिकामा तल्लो सदनका रूपमा रहेको प्रतिनिधिसभा कानुनहरू निर्माण गर्नुका साथै संघीय सरकारलाई बजेट विनियोजनलगायतका महत्त्वपूर्ण काम गर्छ ।

रिपब्लिकन सांसदको गतिविधिले सयौं वर्षदेखि चल्दै आएको मान्यता भत्किएको वासिङ्टन डीसीस्थित क्याथोलिक युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक म्याथ्यु ग्रीन बताउँछन् । अल जजीरासँगको कुराकानीमा उनले भनेका छन्, ‘सदनमा रिपब्लिकन पार्टी नराम्रोसँग विभाजित भएको छ । उनीहरूसँग यस्ता सांसद छन् जसले पार्टीको आधिकारिक उम्मेदवार मन पराएका छैनन् त्यति मात्र होइन फ्लोर अवरुद्ध गरेका छन् । यसले सयौं वर्षदेखिको मान्यता भत्काएको छ ।’

त्यस्तै डेमोक्रेटिक पार्टीका सांसदहरू अहिलेको परिस्थिति आउनु रिपब्लिकन नेतृत्वका लागि असक्षम छ भन्ने कुरा प्रमाणित भएको बताउँछन् । डेमोक्र्याटिक पार्टीका सिनेटर क्रिस मर्फीले ट्विटरमा लेखेका छन्, ‘समस्या आजको मात्र होइन । यस्तै समस्या रिपब्लिकनको बहुमत भएको सदनमा दिनहुँ हुनेवाला छ ।’

उनले रिपब्लिकनले नेतृत्व गर्न असक्षम हुने मात्र होइन यसले सार्वजनिक बेइज्जती हुने पनि बताए । त्यस्तै डेमोक्रेटिक सांसद इल्हान ओमारले म्याककार्थीले ‘ऐतिहासिक अपमान’ भोग्नु परेको प्रतिक्रिया दिएकी छिन् । म्याककार्थीले ओमारलाई इजरायलको आलोचना गर्दा संसदीय समितिबाट निकाल्ने धम्कीसमेत दिएका थिए ।

सन् २०२४ मा पुन: उम्मेदवारी दिने घोषणा गरिसकेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानका बीच पनि रिपब्लिकन पार्टी म्याककार्थीको नाममा एकमत हुन सकेका छैनन् । ट्रम्पले ‘ट्रुथ सोसल’ मा म्याककार्थीलाई भोट दिन आह्वान गर्दै लेखेका थिए, ‘गत राति निकै नै राम्रा संवाद भएका छन् । यो समय भनेको हाम्रो सदनका महान सदस्य केभिनलाई भोट दिनु हो ।’ ट्रम्पका कट्टर समर्थक रूपमा चिनिने फ्लोरिडाका सांसद म्याट गेज पनि म्याककार्थीलाई समर्थन गर्न मानेका छैनन् ।

अमेरिकी सभामुखको निर्वाचनमा देखिएको अड्चन अन्त्यका लागि म्याककार्थीले केही निर्णय गर्न सक्ने आकलन गरिएको छ । बीबीसीका उत्तर अमेरिकी संवाददाता एन्थोनी जर्चरले अमेरिकी सभामुख निर्वाचनमा देखिएको अड्चन ३ तरिकाले अन्त्य हुन सक्ने बताएका छन् । उनका अनुसार म्याककार्थीले संवाद गरेको आफ्नो स्वीकार्यता बढाएमा उनले रिपब्लिकन पार्टीका केही मत बढाउन सक्नेछन् । त्यस्तै उनले म्याककार्थी प्रतिस्पर्धाको दौडबाट बाहिरिँदा अरु कुनै सदस्यमा सहमति हुन सक्ने सम्भावना रहेको बताउँछन् । जर्चरका अनुसार जिम जोर्डन, जिम ब्यांक्सलगायतका सांसदको नाममा सहमति हुन सक्ने सम्भावना रहेको छ ।

त्यस्तै जर्चरले सुझाएको तेस्रो उपाय हो दुवै पार्टीले सहमतिको उम्मेदवार छान्ने । केही रिपब्लिकन सांसदलाई डेमोक्रेटिक पार्टीले समेत स्वीकार्ने सम्भावना रहेको उनको भनाइ छ । डन बेकन, फ्रेड उप्टनलगायतले पनि डेमोक्रेटिकबाट पनि समर्थन पाउने आशा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *