अमेरिकामा मृत्यू हुनेहरु सबै कोरोनाबाट हो की होईन ?

एजेन्सी,अप्रिल ११। विश्वभर फैलिएको महामारी कोरोना भाइरसका कारण अहिले सम्पूर्ण मानवजाति त्रास र संकटको अवस्थामा छ । पछिल्लो समय यो संक्रमणको सबैभन्दा बढी असर अमेरिकामा देखिएको छ । अमेरिकाको दैनिक जनजीवन पछिल्लो एक महिना यता अस्तव्यस्त हुन पुगेको छ । अर्थतन्त्र चौपट छ । आधाभन्दा बढी जनसंख्या नजरबन्द जस्तो अवस्थामा छ । विश्वको एक मात्र शक्तिराष्ट्र अमेरिकामा यस्तो संकट सेप्टेम्वर ११ को आतंकवादी हमलाका बेला पनि नदेखिएको समाचारहरु सार्वजनिक भैरहेका छन् । अधिकांश राज्यहरुमा घरभित्रै बस्न,सामाजिक दूरी कायम गर्न,अत्यावश्यक सेवा बाहेक सबै व्यापार,व्यवसाय बन्द गर्न आदेश जारी गरिएको अवस्था छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभर आपतकालीन अवस्थाको घोषणा गरेर सम्पूर्ण ध्यान कोभिड-१९ नियन्त्रणका लागि केन्द्रीत गरेका छन् र सोही अनुसार श्रोत,साधन पनि परिचालन गरेका छन् । तैपनि अमेरिकामा नै अहिले सबैभन्दा बढी संक्रमण र मृत्युदर देखिएको छ । हरेक घण्टामा संक्रमितको संख्या बढ्ने र मृत्यु हुनेहरुको संख्या बढ्ने गरेको रिपोर्ट सार्वजनिक हुने गरेका छन् ।
अमेरिकामा पनि विश्वको व्यापारिक राजधानी शहर भनिने न्यूयोर्क राज्यमा सबैभन्दा बढी असर छ । यहाँको शहरी संरचना,जीवनशैली,सार्वजनिक यातायात र बसोवासको कारण पनि यो संक्रमण द्रूततर रुपमा फैलिएको हुनसक्ने टिप्पणी पनि सुनिने गरेको छ । त्यसका साथै राष्ट्रपति ट्रम्पले न्यूयोर्कको समस्यालाई गम्भीरतापूर्वक नलिएको र संक्रमण फैलिइसकेपछि नियन्त्रण गर्न कठीनाई भएको भन्ने विश्लेषण पनि कतिपयले गर्ने गरेका छन् । सीएनएन टेलिभिजनका स्वास्थ्य संवाददाता डाक्टर संजय गुप्ता आफ्नो टेलिभिजन कार्यक्रममा सरकारले संक्रमण फैलिन नदिन सुरुमा नै कडाई नगरेको टिप्पणी गर्दै आइरहेका छन् । ‘संक्रमणको शंका लाग्नासाथ परीक्षण गर्ने व्यवस्था नगरिनु र दूई हप्तासम्म संक्रमणले गाँजेपछि अर्थात् श्वास प्रश्वासमा कठीनाई भएपछि मात्र उपचारका लागि प्रक्रिया सुरु गर्नुका कारण पनि यसरी द्रूतगतिमा कोरोना संक्रमितहरुको मृत्यु भैरहेको हुनसक्छ’ डाक्टर गुप्ताले आफ्नो कार्यक्रममा भन्ने गरेका छन् ।
यसैबीच सीएनएनसंगको कुराकानीमा स्वास्थ्य तथ्यांक राष्ट्रिय केन्द्रका प्रवक्ताले कोभिड-१९ नै मृत्युको मूख्य कारण नभएको बताएका छन् । प्रवक्ता जेफ लान्काशायर भन्छन्,-‘ कोरोना संक्रमणबाट अमेरिकीहरुको निधन हुने क्रम बढेको छ । तर यो मात्र मूख्य कारण चाहिं होइन । कोरोना नै मूख्य कारण हो भन्ने तथ्यलाई सपोर्ट गर्ने कुनै सिद्धान्त छैन ।’ शनिवारसम्मको रिपोर्ट अनुसार, अमेरिकामा कोरोना संक्रमितको संख्या पाँच लाखभन्दा बढी पुगेको छ भने करीब बीस हजार जनाको निधन भैसकेको छ ।
कतिपयले अन्य संक्रमणका कारण भएको निधनलाई समेत कोरोना संक्रमणभन्दै दैनिक निधन हुनेहरुको संख्यालाई मात्र आधार बनाएको देखिन्छ । कोरोना संक्रमणले बढी असर पुर्याउने भनेको पहिले नै अन्य किसिमका रोग रहेका र ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई हो । जस्तो कि मुटू सम्बन्धी पुरानै रोग भएका व्यक्तिहरुलाई यसको संक्रमणका कारण बढी असर पर्दछ । यसैगरी क्यान्सर रोगका संक्रमितहरुलाई पनि कोरोनाको बढी असर पर्छ ।
ती स्वास्थ्य प्रवक्ताको भनाइ अनुसार,क्यान्सर र मुटू सम्बन्धी रोगका कारण सन् २०१९ मा कति व्यक्तिको निधन भयो भन्ने कुनै आधिकारिक तथ्यांक सार्वजनिक भैसकेको छैन र सन् २०२० को त केही सिमित तथ्यांक मात्र छ । तर सन् २०१८ मा चाहिं अमेरिकामा जनवरीदेखि अप्रिलसम्मको चार महिनाको अवधिमा मात्र दुई लाख ३४ हजार व्यक्तिको मुटू सम्बन्धी रोगका कारण मृत्यु भएको थियो भने क्यान्सरबाट मात्र एक लाख ९९ हजार जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *