अमेरिकामा बसोबास गर्ने नेपालीले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन्।
अमेरिकाको क्वाड सिटी क्षेत्रमा बसोबास गर्दै आएका नेपालीले संकलन गरेको १८ लाख रुपैयाँ बुधबार पुनको आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको क्वाड सिटी नेपाली सोसाइटीका अध्यक्ष रमेश केसीले जानकारी दिए।
अमेरिकाको मिसिसिपी नदीको किनार, आइवा तथा इलिनोइका ४ शहरमा बसोबास गर्ने नेपालीले ‘क्वाड सिटी नेपाली सोसाइटी’ गठन गरेका छन्। सोही समूहले संकलन गरेको १८ लाख रुपैयाँ (सोह्र हजार अमेरिकी डलर) को चेक पुनलाई हस्तान्तरण गरिएको हो।
क्रेडिट आइलैंड लज, डेभनपोर्ट आइवामा भएको कार्यक्रममा पुन आफैं सहभागी भएका थिए। १६ हजार डलरको सो चेक कोषाध्यक्ष सुप्रिया राणाले पुनलाई हस्तान्तरण गरेकी हुन्।
त्यतिबेला पुनको स्वागतमा सिंगो क्वाड सिटी उर्लिएको अध्यक्ष केसीले बताए। ‘राष्ट्रिय आविष्कार केन्द्रका परिकल्पनाकार तथा अध्यक्ष महावीर पुन क्वाड सिटीमा आउँदा उहाँको भव्य स्वागत भयो,’ केसीले भने, ‘उहाँको स्वागतमा क्वाड सिटी नै उर्लिएको थियो।’
चेक ग्रहण गर्दै पुनले अमेरिकामा बस्ने नेपालीहरुले गरेको सहयोगले आविष्कार केन्द्रलाई अघि बढ्न थप टेवा पुग्ने बताए।
उक्त कार्यक्रम सफल बनाउन डा.रितु गुरुङ, डा.राजेन्द्र दाहाल, देवी बास्तोला, किरण बस्नेत, महेन्द्र बस्नेत, राधेस पण्डित, गंगा प्रसाई, सुशिल थापा, लाक्पा शेर्पा लगायतले महत्वपूर्ण भूमिका खेलेका छन्।