अमेरिकामा कोरोना महामारी फैलिन नदिन निषेधात्मक उपायहरु अप्रिल ३० सम्म लम्बिन सक्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलिन नदिन अपनाइएका निषेधात्मक उपायहरु कम्तिमा अप्रिल ३० सम्म लम्बिन सक्ने बताएका छन् ।

उनले अबको दुई हप्तामा कोरोनाका कारण उच्चदरमा मृत्यु हुने सम्भावना रहेकाले रोकथामका उपायहरु बढाउने तयारी गरेको बताए ।

राष्ट्रपति ट्रम्पले सामाजिक दूरीसहितका निषेधात्मक नियमहरु अमेरिका भर बढाउनेबारे तयारी भएको पनि बताए ।

इम्पेरियल कलेज लण्डनका वैज्ञानिकहरुले मार्च १६ मा प्रकाशित गरेको प्रतिवेदनमा सावधानी नअपनाए कोरोनबाट २२ लाख मानिसको मृत्यु हुने उल्लेख गरेपछि आफू सचेत बनेको उनको भनाई छ ।

यसअघि ट्रम्पले इस्टर अर्थात अप्रिल १२ देखि देशका केही क्षेत्र खुला गर्ने उपयुक्त समय भएको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसमाथि विजय प्राप्त गर्ने एक मात्र उपाय भनेको सामाजिक दूरी नै रहेको बताए ।

आउँदो जुनसम्ममा कोरोना भाइरसको संक्रमणबाट अमेरिका बाहिर निस्कने उनको दाबी छ ।

अमेरिकाले दैनिक एक लाखभन्दा धेरै भाइरसको जाँच गरेका कारण संक्रमित संख्या उच्च देखिएको उनको भनाई थियो ।

यसअघि राष्ट्रपति ट्रम्पले गठन गरेको कोरोना भाइरस टास्क फोर्सका प्रमुख डा. एन्थोनी फाउकीले कोरोना भाइरसका कारण २ लाख अमेरिकी नागरिकको ज्यान जान सक्ने चेतावनी दिएका थिए ।

अमेरिकामा १ लाख ४२ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण सबै भन्दा धेरै हुने मुलुकमा अमेरिकाले चीन र इटालीलाई पनि पछि पारेको छ ।

यसैबीच स्वास्थ्य सामग्रीहरू बोकेको पहिलो चिनियाँ विमान अमेरिका पुगेको छ ।

त्यसमा रहेका पञ्जा, शरीर ढाक्ने सुरक्षित पहिरन र मास्क महामारीबाट बढी प्रभावित न्यूयोर्क, न्यूजर्सी एवं कनेटिकट राज्यमा वितरण गरिने जनाइएको छ ।

आगामी दिनमा चीनबाहेक मलेसिया र भियतनामबाट समेत अमेरिकी स्वास्थ्यकर्मीलाई अत्यावश्यक सुरक्षा सामग्री आपूर्ति गरिने भएको छ ।

न्यूयोर्क सहरका मेयरले स्थानीय अस्पतालहरूमा मौज्दात् रहेका स्वास्थ्य सामग्रीहरू एक साताभित्रै सकिने बताएका छन् ।

अमेरिकाका आधाजसो कोरोना संक्रमित न्यूयोर्क राज्यमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *