अमेरिकामा गतमहिना कोरोनाबाट ज्यान गुमाउने प्राय सबै भ्याक्सिन नलगाएकाहरु रहेको पुष्टी भएको छ । मे महिनामा कोरोना संक्रमणपछि ज्यान गुमाउने १८ हजारभन्दा बढीमा प्राय सबै भ्याक्सिन नलगाएकाहरु रहेको तथा भ्याक्सिन लगाएकाहरु झण्डै १५० को मृत्यु भएको थियो ।
औषतमा दिनमा भ्याक्सिन लगाएकाहरु ४ देखि ५ जनाको मृत्यु भएको सरकारी तथ्यांकका आधारमा एपीले गरेको विश्लेषणमा देखिएको छ । त्यस्तै मे महिनामा अमेरिकामा कोरोना संक्रमणबाट अस्पतालमा भर्ना हुनेहरु झण्डै ८ लाख ५३ हजार रहेका थिए । जसमा प्राय सबै भ्याक्सिन नलगाएकाहरु थिए ।
उनीहरुमध्ये भ्याक्सिन लगाएर पनि अस्पतालमा भर्ना भएकाहरु जम्मा १२ सयको हाराहारीमा रहेका थिए, अर्थात् संक्रमित भएर अस्पतालमा भर्ना हुनेहरुमध्ये भ्याक्सिन लगाएकाहरु जम्मा शुन्य दशमलव १ प्रतिशतमात्र रहेका थिए । एपीले सीडीसीबाट प्राप्त तथ्यांकको विश्लेषण गरेको हो ।
यसै महिनाको सुरुवाततिर पनि बाइडेन प्रशासनका पूर्व सल्लाहकार एन्डी स्लाभिटले कोरोना संक्रमणबाट ज्यान गुमाउने ९८ देखि ९९ प्रतिशत अमेरिकनहरु भ्याक्सिन नलगाएकाहरु रहेको बताएका थिए । सीडीसी निर्देशक डाक्टर रोशेल वालेन्स्कीले कोरोना सम्बन्धित सम्पूर्ण मृत्यु भ्याक्सिनबाट रोक्न सकिने बताएकी छिन् । भ्याक्सिन नलगाएका कारण भएका त्यस्ता मृत्यु दुखद भएको उनले बताइन् ।
अमेरिकामा भ्याक्सिन अभियान सुरु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या घटेको छ । अहिले अमेरिकामा १२ बर्षदेखि माथिको जनसंख्याको झण्डै ५३ प्रतिशतले पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । त्यस्तै कुल जनसंख्याको १२ बर्षभन्दा माथिका झण्डै ६३ प्रतिशतले कम्तीमा एक डोज भ्याक्सिन लगाएका छन् ।
अमेरिकामा अहिलेसम्म १५१ मिलियन व्यक्तिले पूर्णरुपमा भ्याक्सिन लगाएका छन् । त्यस्तै कम्तीमा एकडोजमात्र लगाउनेहरु १७८ मिलियनभन्दा धेरै रहेका छन् । यद्यपी जुलाई ४ सम्मको बाइडेन प्रशासनको भ्याक्सिनको लक्ष्य भने पूरा नहुने देखिएको छ ।