अमेरिकामा शुक्रबार एकै दिन कोरोना भाइरसले १३०० को ज्यान लिएको छ। अमेरिकामा एकैदिन मृत्यु हुनेको यो कीर्तिमानी संख्या हो। यो संख्या सँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७,३८५ पुगेको छ। यसअघि बुधबार १०४९ को मृत्यु भएकोमा विहिबार त्यो संख्यामा कमी आएर ९१२ थियो ।
यसैगरी शुक्रबार ३१,१६० थप संक्रमित भएर एकै दिन सबैभन्दा बढी संक्रमित हुनेको पनि कीर्तिमान बनेको छ। यो कीर्तिमानी आँकडासँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २७६,०३७ पुगेको छ।
यी तथ्यांकहरू जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेका हुन्। यी तथ्यांक अप्रिय भएकाले धेरैलाई मिथ्यांक पनि लाग्न सक्छन्। तर, लाग्नु र सही हुनु फरक फरक कुरा हुन्।
पछिल्लो सातादेखि कोरोना भाइरसको विश्व इपिसेन्टर बनेको अमेरिकामा मृतक र संक्रमितको संख्या अचाक्ली बढेको छ। यो संख्यालाई जसरी भए पनि एक लाखभन्दा नबढाउन प्रयत्नरत् रहेको स्वयं अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प बताइरहेका छन्।
यसैबीच अमेरिकामा कोरोना संक्रमणबाट विजय प्राप्त गर्नेको संख्या पनि १२,२६८पुगेको छ। यो समाचार तयार पारिरहेको बेला अमेरिकामा गम्भीर विरामीको संख्या ५७८७ छ। हरेक तथ्यांक डरलाग्दा भए पनि मृतकको संख्या भने प्रति १० लाखमा अझै पनि २२ मात्र रहेको छ।
अमेरिकामा कोरोना संक्रिमत र मृतको ग्राफ ठाडो उकालो चढिरहेको छ। ह्वाइट हाउसमा प्रेस व्रिफिङका बेला राष्ट्रपति ट्रम्प आउँदो दुई साता थप भयावह हुने बताइरहेका छन्। उनका दायाँ बायाँ उभिने दुई डाक्टर ढुक्कले अमेरिकामा कम्तीमा एक लाखको मृत्यु हुने बताउँछन्।
यो समाचार तयार पारिरहेको बेलासम्म विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९,१२० पुगेको छ भने संक्रमितको संख्या बढेर १०९६४४६ पुगेको छ। इटालीमा मात्र १४,६८१ को मृत्यु भएको छ भने त्यसपछि स्पेनमा ११,१९८ मानिसको ज्यान गएको छ। यी दुईलाई अमेरिकाले पछ्याउँदै ७,३०१अमेरिकी गुमाइसकेको छ।