अमेरिकाको टेक्सास राज्यको बाहिरी इलाकामा एउटा ट्रकमा ४६ जनाको शव भेटिएको छ । ती सबै आप्रवासी भएको अनुमान गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अन्य १६ जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ।
सामाजिक सञ्जालमा शेयर भइरहेका तस्विरहरूमा ठूलो ट्रकको वरिपरि धेरै आपतकालीन कामदारहरू देखिन्छन्। स्थानीय टिभी च्यानलका अनुसार ट्रक सान एन्टोनियोको दक्षिणपश्चिम तर्फ रेलवे ट्र्याक नजिकै देखा परेको थियो ।
न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट भागेका गाडीका चालकलाई खोजिरहेका छन्। सान एन्टोनियो अमेरिका(मेक्सिको सीमाबाट करिब २५० किलोमिटर टाढा अवस्थित छ।
टेक्सासका गभर्नर ग्रेग एबोटले यी मृत्युका लागि राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन्। उनले यसलाई घातक खुला सीमा नीतिको परिणाम भने ।
मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले आफ्ना एक अधिकारी घटनास्थलतर्फ गएको बताएका छन् । यद्यपी पीडितको नागरिकताबारे भने केही जानकारी नभएको उनले बताए । यी व्यक्तिको मृत्यु के कारणले भएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।