चर्चित अमेरिकी रियालिटी सो ‘अमेरिकन आइडल’ को १८औं संस्करणमा छनोट भएका नेपाली मूलका युवा दिवेश पोखरेलले यतिबेला धेरैको ध्यान तानिरहेका छन्। पोखरेलकोे प्रस्तुति नेपालमा मात्रै होइन संसारका संगीतप्रमीले रुचाएका छन्। उनले निर्णायक मण्डलका तीन जनाको पनि मन जितेका छन्।
दिवेशको आवाजले अत्यन्तै प्रभावित भएर निर्णायक मण्डलका ल्युक ब्रायनले त दिवेशसँगै स्वर मिलाएर गाएका थिए। निर्णायक मात्रै होइन उनको गायनले रियालिटी सोका दर्शकसमेत अत्यन्त उत्साहित भएर झुमे। स्टेज नाम आर्थर गनबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ बोलको गीत दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डलका तीनै सदस्यले उठेर ताली बजाए।
शोका निर्णायकहरू लियोनेल रिची, क्याटी पेरी र लुक ब्रायन तीनै सदस्यले दिवेशलाई दोर्होयाउन गाउन लगाएका थिए।
प्रस्तुतिपछि दिवेशले आफूलाई निर्णायक मण्डल र दर्शकसँग पूर्ण रुपमा जोडिएको महसुस गरेको प्रतिक्रिया समेत दिए।
५ वर्ष अघि अमेरिका गएका दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आएका छन्।