पुस्तक समिक्षा
तनहुको दुर्गम गाँउमा जन्मेर बाँमे सर्दै, एकदुई कदम गर्दै र समयको रफ्तारलाई च्याप्पै समातेर लम्किदै संसारको दर्जन भन्दा बढी देशहरुमा सम्मानीय पदमा बसेर समाज बिकाश र मानब सेवालाई आफ्नो पेशा बनाई सर्बोत्कृष्ट ग्लोबल ह्युमानिटरियन अवार्ड जित्ने एक सफल व्यक्तिको नाम हो कृष्ण केसी । हँसिलो र अत्यन्त मिलनसार स्वभाब भएका केसी ले आफ्नो चालिस बर्ष भन्दा लामो समयको अनुभब लाई सँगालेर “ द जोर्नी अफ होप एण्ड ग्लोबल ह्युमानिटरियन “ नामक पुस्तक लेखेका छन्।
यो पुस्तक सरसर्ती हेर्दा कतै लेखकको आत्मकथा जस्तो लाग्न सक्छ भने कतै यात्रा संमरण। बास्तबमा यो पुस्तक विभिन्न आयामहरुको संगालो हो। अनुभबहरूको संगालो हो। जिबनलाई आफ्नो लक्षसम्म पुर्याउनको लागि लेखकले गरेको त्याग र मेहनतको शिलालेख हो। नयाँ युवा पुस्ताहरुको लागि मार्ग दर्शन र प्रेरणाको मूल हो। सफलताको संस्मरण हो।
बाह्र सन्तानहरु मध्य केसी दोश्रोमा पर्दछन। खाली खुट्टा हिडेर दश कक्षा सम्म स्कुल जाने आउने गरेका के.सी. ले एस. एल. सी. को परिक्षा दिने बेला मात्र पहिलो पल्ट खुट्टामा जुत्ता हालेका रहेछन। दिनभरी घरको काम सकेर सबै सुतिसकेपछि मट्टीतेलको टुकी बालेर अध्यन गरेका केसीले अन्तराष्ट्रिय स्तरको काम गर्ने सोच त के कल्पना सम्म गरेका रैनछन। घाँस, दाउरा, गोठालो गर्दै र बाँदर धपाउदै अध्यनलाई अघि बढाएका केसी एघार रुपियाँ बोकेर उच्चशिक्षाको लागि काठमाडौँ झरे। परालको गुद्रिमा कैयौ रात काटे। कुनै दिन पनि पेटभरी खान पाएनन्। लाइनसंगै गुन्द्रिमा अपरिचितहरु संग सुत्नु पर्थ्यो। रातभरी लामखुट्टेले चुस्थ्यो। तरपनि उनि आफ्नो लक्षबाट कहिले बिचलित भएनन्। डाक्टर र इन्जिनियर बन्ने सपना बोकेर राजधानी छिरेका केसी अन्तत शिक्षाशात्रमा उच्च शिक्षा हाँसिल गरे। त्यसपछि उनि एक सरकारी शिक्षकबाट जागिरे जिबन शुरु गरेर दर्जनौ राष्ट्रिय तथा अन्तरास्ट्रिय गैर संघसंस्थाहरुमा काम गेरको अनुभबलाई उनले यो किताबमा समेटेका छन।
‘युनाइटेड मिसन टु नेपालमा” काम गर्दा गर्दै उनले अध्यनकोलागि क्यानाडासम्म पुग्ने अवसर प्राप्त गरे। क्यानाडामा मानब बिकास सम्बन्धि अध्यन गर्नुका साथै छोटो समय यहाँको एक प्रतिष्ठित कलेजमा अध्यापन गर्ने समेत अवसर प्राप्त गरे। क्यानाडामा बस्ने क्रममा उनले जुन सहयोग, सदभाब र माया पाँए त्यो उनको जिबनमा अमिट छाप बनेर बस्यो। क्यानाडाको त्यो अनुभवलाई यो किताबमा लेखकले धेरैपल्ट सम्झिएका छन्।
हामीले पुस्तक पढ्दै गर्दा एकातिर केसीको व्यक्तिगत र पेशागत सफलताहरु एक पछि अर्को गर्दै पछ्याईरहेको देख्छौ भने अर्को तर्फ उनले गरेको संघर्ष, कठोर मेहनत र आत्मविश्वासका अनगिन्ति उदाहरण देख्न सकिन्छ। अमेरिकन नेभी अफिसर तथा लेखक जोको विलिङ्कले आफ्नो किताब “ डिस्सिप्लिन इक्वेल्स फ्रिडम” मा भनेका छन् , “अनुशासनले मान्छेलाई स्वतन्त्र र सफल बनाउन सक्छ।” बास्तबमै केसीको हरेक सफलताको पछि उनको कडा अनुशासनलाई देख्न सकिन्छ। संसारको जुनसुकै कुनामा हुदा समेत उनको परिवारले कहिले एक्लो महशुस गर्नु परेन। बुवालाई आफूसंगै संसारका धेरै ठाँउहरु घुमाएँ। आमालाई भौतिक रुपमा संगै घुमाउन त पाएनन् तर हरेक पल्ट उनि जहाँ जहाँ जान्छन त्यहाँ आमालाई सम्झिरहे। आमाले “ बंगारा हुदा सम्म भुटेको मकै चपाउन पर्छ “ भन्दै समयमै पढ्न दिएको प्रेरणालाई उनले जिबनको मुलमन्त्र ठानेका छन्।
आफुलाई अत्यन्त सरल रुपमा प्रश्तुत गर्ने केशीले विभिन्न देशहरुमा तालिम दिने क्रममा आइपरेका भाषिक तथा सांकृतिक समस्याहरुलाई समेत घतलाग्तो शैलीमा प्रस्तुत गरेका छन्। क्यानाडाको अस्पतालमा मृगौलाको अपरेशन गर्दाको अनुभब होस् या मंगोलियाको गोबी मरुभूमिमा हप्तौ भोकै बस्ने मानिसहरुको अवस्थाको बारेमा, केसीले गरिबीको र अशिक्षाको समस्या नेपालमा मात्रै हैन बिकशित मुलुक भनेर घोषित राज्यहरुमा समेत हुन्छ । त्यहाँ पनि भिकारीहरु हुन्छन। शिक्षा, स्वास्थ्य र गरिबीको समस्याले पिडित मान्छेहरु हुन्छन भन्ने उदाहरणहरु दिएका छन्।
यो पुस्तकमा कुनै देश विदेशको यात्रावर्णन गरिएको छैन। कुनै पाँच तारे होटलमा हनिमुन मनाएको रोमान्टिक कथा रचिएको छैन। छन् त केवल संघर्षको कथा छन् । प्लेनमा आँखा झिमिक्क नपारी गृहकार्य गरेका अनुभब छन्। भोक भोकै रातभर अध्यन गरेका व्यथा छन्। र मेहनत पछि हात पारेका लोभलाग्दा जागिरहरु र आफुले निर्बाह गरेका भूमिकाहरूको बारेमा इमान्दारीतापुर्बक कोरिएका हरफहरु छन्। लेखकले खासगरी युद्धको चपेटामा परेका मान्छेहरु बिशेष गरि महिला तथा बालबालिकाहरुको सेवामा आफ्नो पेशा भन्दा माथि उठेर गरिएको मानब सेवा र समाज बिकासको बारेमा अत्यन्त रोचक, बस्तुगत र सरल तरिकाले प्रस्तुत गरेका छन्।
एसियाली बिकास बैंक संग आबद्ध भएर काम गर्ने सिलशिलामा उनले फिलिपिन्समा मास्टर्स डिग्री सम्म आध्यन गर्ने मौका पाएका थिए। तर खाइपाई आएको जागिरलाई चटक्क छोडेर, पैसो ऋण खोजेर पढ्न हिड्दा उहाँकै बुवाले रोक्न खोज्नु भएको थियो। तर कसीको आत्मबिश्वास र तिब्र इक्क्षाले गर्दा उनले फिलिपिन्सको एक प्रतिष्ठित कलेजबाट मास्टर्स डिग्रीसम्मको अध्यन गरेका केसी जस्तोसुकै अवस्था आइपरे पनि कहिँ कतै बिचलित भएनन्। उनले राति दुई तिन बजेसम्म लगातार पढ्ने गरेको, कैयौ साथीहरुले नसकेर बिचैमा छोडेको र आफुले विभागीय प्रमुखलाइ किन यति धेरै गाह्रो कोर्ष बनाएको भन्दा “यो स्तरको स्ट्रेस सामना गर्न नसक्नेले अन्तराष्ट्रिय तहको काम गर्ने सक्दैन भन्ने जवाफले युबा पुस्तालाई मेहनत गर्न प्रेरणा दिन्छ।
केसीले दुइ पल्टसम्म आफ्नो कामको उच्चमुल्यांकन गर्दै प्राप्त गरेको गोल्ड मेडल र अन्य दर्जनौ प्रशंसापत्र पाउन सफल भएको उल्लेख गर्नुका साथै सप्रमाण फोटाहरु प्रशंशापत्र र फोटाहरु पनि पुस्तकमा समेटेका छन्। यसका साथै उनले संगै कामगर्दा आफ्ना सहकर्मी, बिध्यार्थी र प्रोफेसरहरुले दिएको प्रतिक्रियालाइ समेत यो पुस्तकमा हुबहु समेटेका छन्। प्रोफेसर हेर्नान्दोले भनेका छन् “ कृष्ण केसी एउटा यस्तो निडर ब्यबस्थापक हो जसले हजारौ मान्छेहरुको लागि आफ्नो जिबन दाउमा राखेर काम गरेको छ। समयभन्दा सधै एक कदम अगाडी निर्भय बनेर हिडेको छ। र उसंग स्पस्ट भिजन छ।”
नेपाल,पाकिस्तान, श्रीलंका, बंगलादेश, कम्बोडिया, मंगोलिया, सुडान, फिलिपिन्स, क्यानाडा, लगाएत दर्जन भन्दा बढी देशहरुमा विभिन्न गैर सरकारी संस्थाहरुका मानब बिकासको लागि काम गरेका अनुभबहरुको संगालो हो यो किताब। त्यो बाहेक आफुले कामको शिलशिलामा भ्रमण गरेका २९ भन्दा देशहरुको केहि न केहि रोचक अनुभबहरु पस्केका छन् यो पुस्तकमा उनले।
यो पुस्तकमा उनले आमाको असामयिक मृतुले पुर्याएको पिडा, आफ्नो चार बर्षिय छोरी मकैको फुला (पपकर्न ) घाँटीमा अड्केर गुमाउदाको चोट, आफ्नो मृगौलाको अपरेशन गर्दाको तनाब, पाकिस्तानको सडक दुर्घटना, परिवारलाई एक्लै छोडेर विभिन्न देशहरुको भ्रमण गर्दाको मानशिक पिडाहरुलाई पनि अत्यन्त सहज ढंगले पस्कियका छन्। सरसर्ती पढ्दै जादा कतिपय कुराहरु दोहोरियाको हो कि जस्तो भाँन पर्न सक्छ पाठकहरुलाई। तर लेखक सकेसम्म पाठकहरुले सजिलै कुरो बुझुन बन्ने कुरामा सतर्क देखिन्छन। कमेन्ट क्याप्सन र फोटो एल्बमले पनि पाठकहरुको रुचिलाई ओइलिन दिदैन।
सायद यो पुस्तक मैले आजभन्दा बिस/तिस वर्ष अगाडी पढ्न पाएको भए, जिबनको मोड फरक हुन्थ्यो होला। हामीले युरोप,अमेरिका, चाइना आदि देशहरुमा जन्मे हुर्केकाहरुको सफलताको कथा पढेर मख्ख हुन्छौ। एलोन मास्क, ज्याक माँ, जेफ बेसोजको आर्थिक प्रगतिको बारेमा खुब चर्चा गर्छौ। अमेरिकी रास्ट्रपति, विश्वप्रशिद्द लेखकहरुको प्रसंग जोडेर कुरा गर्छौ। तर आफ्नै माटोमा जन्मे हुर्केकाहरुको संघर्षको कथा पढ़दैनौ। जिबन खुशी पैसालेमात्र हुदैन। साना साना कुराहरुमा कुटझैँ लुकेको हुन्छ खुशी। तिनै खुशीहरुको संगालो हो जस्तो लाग्छ यो पुस्तक।
खासगरेर यो किताबबाट अन्तराष्ट्रिय बिकाश अध्यन, ग्रामिण बिकाश, समाजशास्त्र, मानबशास्त्र, समाज बिकाश र अन्तराष्ट्रिय संबन्धहरुको बारेमा बिश्व बिध्यालयमा पढ्दै गरेका बिध्यार्थीहरुको लाभ उठाउन सक्छन।
पुस्तक बहुआयामिक र जिबनभोगाईको कथा भएकोले कतिपय अनुभबहरु दोहोरियाको जस्तो लाग्न सक्छ। तर पाठकहरुलाई च्याप्प कठालोमा समातेर अन्तिमसम्म पुर्याउने प्रशस्त मसलाहरूको कमि छैन यो पुस्तकमा।
प्रस्तुति: दिलिप पौडेल
टोरोन्टो क्यानाडा