उत्तर कोरियामा खाद्यान्नको ठूलो अभाव हुनेबारे चिन्ता बढ्दै गएको छ । हालैमा थुप्रै स्रोतले भोकमरीका कारण उत्तर कोरियामा उल्लेखनीय मृत्युको सम्भावना औँल्याएका छन् । केही विज्ञ उत्तर कोरिया अहिले ‘कठिन मार्च’ भनेर चिनिने सन् १९९० को दशककैजस्तो अनिकालको अवस्थामा पुगेको बताउँछन् । कठिन मार्च अनिकाल सिर्जित भोकमरीले लाखाँै उत्तर कोरियालीको ज्यान लिएको थियो । भोकमरीबाट दुई करोड जनसंख्यामध्ये तीनदेखि पाँच प्रतिशत जनसंख्याको मृत्यु भएको थियो ।
पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्सका अनुसन्धान विश्लेषक लुकास रेन्गिफो केलरका अनुसार व्यापारसम्बन्धी तथ्यांक, उपग्रहबाट लिइएका तस्बिरका साथै संयुक्त राष्ट्रसंघ र दक्षिण कोरियाली अधिकारीहरूको आकलनले पनि उत्तर कोरियामा खाद्यान्न आपूर्तिको स्तर ‘न्यूनतम मानवीय आवश्यकता पूरा गर्ने तहभन्दा कम’ रहेको देखाएका छन् । रेन्गिफो–केलरका अनुसार खाद्यान्नको वितरण समान रूपमा हुँदा पनि (यद्यपि सेना र कुलीन वर्गले प्राथमिकता पाउने उत्तर कोरियामा यो अकल्पनीय कुरा हो) भोकमरीबाट मृत्यु अवश्यंभावी देखिन्छ ।
दक्षिण कोरियाका अधिकारीहरू यो मूल्यांकनसँग सहमत छन् । सियोलले हालैमा भोकमरीबाट यो मुलुकका केही क्षेत्रमा मृत्यु भइरहेको सार्वजनिक गरेको थियो । तर, पृथकतामा रहेको मुलुकबाट यी दाबी पुष्टि गर्ने ठोस प्रमाण जुटाउन कठिन रहेकाले केही विज्ञ भने यो मूल्यांकनमा शंका गर्छन् ।
संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठनका अनुसार कोभिड महामारीअघि पनि उत्तर कोरियाको आधाजति जनसंख्या कुपोषित थियो । तीन वर्षको सीमाबन्दी र पृथक्ताले स्थितिलाई थप खराब बनाएको हुन सक्छ ।स्थिति कतिसम्म निराशाजनक बनेको छ भन्ने संकेत उत्तर कोरियाली नेता किम जोङ उनले कृषि र राज्यको आर्थिक योजनाहरूमा ‘आधारभूत रूपान्तरण’ र कृषिमा राज्यको नियन्त्रणलाई थप मजबुत बनाउन आह्वान गर्दै देशको कृषि क्षेत्रको पुनरुत्थानमा जोड दिन यसै साता वर्कर्स पार्टीको बैठक आयोजनालाई लिन सकिन्छ ।
विज्ञहरू समस्याका लागि प्योङयाङ आफैँ दोषी रहेको बताउँछन् । महामारीको समयमा प्योङयाङले आफ्नो पृथक्तावादी प्रवृत्तिलाई थप बढावा दियो, आफ्नो चीनसँगको तीन सय किलोमिटरमा दुई तहको सुरक्षा घेरा खडा गर्यो, जसले उसको थोरैतिनो सीमापार व्यापारको पहुँचलाई पनि अवरुद्ध गर्यो । यसैगरी, गत वर्ष उसले कीर्तिमानी संख्यामा क्षेप्यास्त्र परीक्षण गर्न आफ्ना दुर्लभ स्रोतहरू खर्च गरेको छ ।‘सन् २०२० को अगस्टदेखि त्यहाँका सीमामा सुट अन साइटको आदेश कायम छ । यात्रा तथा व्यापारको यो नाकाबन्दीले सीमित आधिकारिक व्यापारलाई समेत अवरुद्ध गरेको छ,’ ह्युमन राइट्स वाचका वरिष्ठ अनुसन्धानकर्ता लिना युन भन्छन् ।
संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठनका अनुसार कोभिड महामारीअघि पनि उत्तर कोरियाको आधाजति जनसंख्या कुपोषित थियो । तीन वर्षको सीमाबन्दी र पृथक्ताले स्थितिलाई थप खराब बनाएको हुन सक्छ ।
चिनियाँ भन्सार तथ्यांकअनुसार सन् २०२२ मा चीनले आधिकारिक रूपमा करिब पाँच करोड ६० लाख किलोग्राम गहुँ तथा मुस्लीको पिठो र ५३ हजार दुई सय ८० किलोग्राम अनाज उत्तर कोरियालाई निर्यात गरेको थियो । तर, प्योङयाङको सीमाबन्दीले अनौपचारिक व्यापारको घाँटी निमोठ्यो । युन अनौपचारिक व्यापार जनसामान्य उत्तर कोरियालीले उत्पादनहरू किन्ने उत्तर कोरियाका बजारहरूको मुख्य लाइफ लाइन भएको बताउँछन् ।
सीमा रक्षकहरूलाई अर्काेतर्फ गस्तीमा जान घुस दिएर देशभित्र चिनियाँ उत्पादन तस्करी गर्ने कार्यहरू सीमाबन्दीयता हुनै पाएको छैन । तर, थुप्रै विज्ञ भने अनिकालको मूल समस्या वर्षौंदेखिको आर्थिक कुव्यवस्थापन भएको र राज्य नियन्त्रणलाई थप बढाउने किमको प्रयासले केबल स्थितिलाई थप खराब बनाउने ठान्छन् ।
‘उत्तर कोरियाले सीमाहरू खोल्न, व्यापार पुनः सुचारु गर्न आवश्यक छ । उनीहरूले कृषि क्षेत्रको सुधारका लागि आवश्यक चिजहरू ल्याउन आवश्यक छ । किनकि मानिसहरूलाई खुवाउन उसलाई खाद्यान्न चाहिन्छ । तर, अहिले पनि उनीहरू पृथक्ता र दमनलाई नै प्राथमिकता दिइरहेका छन्,’ युनले भने ।
रेन्गिफो–केलरले औँल्याएझैँ वंशशासित उत्तर कोरियामा विगतको अनौपचारिक व्यापारलाई पुनः उदय हुन दिनु किमको हितमा छैन । ‘यो शासन आफ्नो शक्तिलाई खतरामा पार्न सक्ने फस्टाउँदो उद्यमी वर्ग चाहँदैन,’ उनी भन्छन् । किम मिसाइल परीक्षणहरू गरिरहन रुचाउँछन् तर छिमेकीको सहायता प्रस्तावलाई निरन्तर अस्वीकार गर्छन् । दक्षिण कोरियाका विदेशमन्त्री पार्क जिनले केही दिनअघि सिएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘यस समस्याबाट उत्तर कोरिया बाहिर निस्कने एउटै उपाय वार्ताको टेबुलमा फर्किने हाम्रो मानवीय प्रस्तावलाई स्वीकार गर्नु अनि भविष्यका लागि सही निर्णय गर्नु नै हो ।’
प्रधानमन्त्री हान डक–सुले हालै सिएनएनसँग भने, ‘हाम्रो गुप्तचरीले स्थिति बिग्रिँदै गएको देखाउँछ, किनभने उनीहरूका नीति परिवर्तन भइरहेका छन् । अध्यक्ष किम जोङ उन मानसिहरूलाई खाद्यान्न आपूर्तिलाई राज्य निर्देशित गरोस् भनेर निकै दबाब सिर्जना गर्न चाहन्छन् । तर, तपाईंलाई थाहा छ, यसले काम गर्दैन ।’सियोलको एकीकरण मन्त्रालयले प्योङयाङले आफ्ना जनतालाई खुवाउनुको सट्टा क्षेप्यास्त्र र आणविक कार्यक्रममा ध्यान केन्द्रित गर्न जारी राखेको औँल्याउँछ ।
गत महिना एक ब्रिफिङमा उपप्रवक्ता ली ह्यो–जंगले भने, ‘स्थानीय र अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरूका अनुसार उत्तर कोरियाले गत वर्ष क्षेप्यास्त्र प्रक्षेपणमा गरेको खर्च खाद्य आपूर्तिमा प्रयोग गरेको भए त्यो १० लाख टनभन्दा बढी खाद्यान्न किन्न पर्याप्त हुने थियो । जुन उत्तर कोरियाको वार्षिक खाद्यान्न अभाव पूर्ति गर्न पर्याप्तभन्दा बढी हो ।’
सोलको ग्रामीण विकास एजेन्सी बाढी र प्रतिकूल मौसमको सामना गर्नुपरेकाले उत्तर कोरियाको बाली उत्पादन अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशत कम भएको विश्वास गर्छ । रेन्गिफो–केलर यी विभिन्न कुरा र किम शासनको गलत आर्थिक दृष्टिकोणका कारण पहिले नै पीडित उत्तर कोरियालीहरूले विषम अनिकालको विनाशकारी प्रभाव भोग्नुपर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्छन् ।
(सिएनएनका लागि पउला हानकोक्सको आलेख)