अमेरिकाको नर्दन डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाको डिस्ट्रिक्ट कोर्टले परिवारमा आधारित ग्रिनकार्डका सन्दर्भमा ज्याकोब भर्सेज बाइडेन मुद्दा मुद्दा खारेज गरिदिएको छ । तर २०२१ का डिभी विजेताहरुलाई अर्को मुद्दा दायर गर्नका लागि दोश्रो मौका दिएको छ । परिवारमा आधारित ग्रिनकार्डका सन्दर्भमा सरकारका तर्फबाट फाइल गरिएको मोसनलाई स्वीकार गरिएपनि डिभी विजेताका सन्दर्भमा भने अस्वीकार गरिएको छ । यो मुद्दा गत जनवरी ११ मा दायर गरिएको थियो ।
डिभी २०२१ को अवस्था फरक रहेको र डिभी २०२१ का मुद्दाका सन्दर्भमा अदालतलाई न्याय गर्ने क्षेत्राधिकार रहेको अदालतले स्वीकार गरेको छ । अदाललते डिभी २०२१ का विजेताहरुलाई क्लास एक्सनका लागि उचित रुपमा अभियोगसहित दोश्रो संसोधित मुद्दा दायर गर्न निर्देशन समेत दिएको छ ।
ज्याकोब भर्सेज बाइडेन मुद्दा २१९६ आप्रवासी भिसा आवेदक वा उनीहरुका अमेरिकामा रहेका ग्रिनकार्डवाहक र अमेरिकी नागरिक परिवारका तर्फबाट दायर गरिएको थियो । यो मुद्दामा पनि झण्डै साढे ४ लाख परिवारमा आधारित ग्रिनकार्ड आवेदक र भिसा पाउन नसकेका डिभी २०२१ का विजेताहरुको प्रतिनिधित्व गरिएको थियो । यो मुद्दा ट्रम्पको आप्रवासन रोकमा केन्द्रीत रहेको थियो तर बाइडेन प्रशासनले ट्रम्पको आप्रवासन रोक खारेज गरिसकेकाले यो मुद्दा खारेजीका लागि मोसन फाइल गरेको थियो ।
यो मुद्दामा डिभी विजेताहरुलाई आगामी जुन २२ भित्र संसोधनसहितको मुद्दा दायर गर्न सक्ने अदालतको फैसलामा उल्लेख गरिएको छ । जुलाई २ भित्र सरकारले यो मुद्दाका सन्दर्भमा आफ्नो जवाफ दिनुपर्नेछ । त्यसपछि जुलाई १५ मा मुद्दाबारे सुनुवाई हुने अदालतको फैसलामा उल्लेख गरिएको छ ।
यसैबीच भिसा नपाएका डिभी २०२१ का विजेताहरुका तर्फबाट फाइल गरिएको गुडलक भर्सेज बाइडेन मुद्दा हेर्ने जिम्मा न्यायाधिस अमित मेहतालाई दिइएको छ । वासिंटन डिसीको अदालतका न्यायाधिस मेहताले २०२० को डिभीबारे सकारात्मक कदम चालेका कारण गतबर्षको सेप्टेम्बरमा डिभी २०२० का कैयन विजेताहरुले भिसा पाउन सफल भएका थिए ।