टोरोन्टो घोषणापत्र जारी गर्दै एनआरएन अमेरिकाज् क्षेत्रको क्षेत्रिय बैठक तथा विज्ञ सम्मेलन सम्पन्न,

होमप्रसाद लम्साल
अमेरिका, शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ, अमेरिकाज् क्षेत्रको क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ सम्मेलन आज आईतबार साँझ टोरोन्टो घोषणा पत्र जारी गर्दै सकिएको छ । कार्यक्रमको उद्घाटन परराष्टमन्त्रि प्रदिप ज्ञवालीले अनलाईन माध्यमबाट गरेका हुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिमा भन्दा मातृभुमिको समृद्धिका लागि योगदान गर्न सुझाव दिएका थिए । देशबाहिर रहने नेपालीहरु दलगत राजनीतिमा अल्झिएर समृद्ध नेपाल बनाउने अभियानमा योगदान नपुग्ने जिकीर गर्दै विदेशमा नेपालीपन लिएर मुलुकका लागि योगदान गर्न सुझाए । मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गर्न संविधानले नै सुनिश्चित गरिसकेको र त्यसका लागि आवश्यक ऐन कानून निर्माणको प्रक्रिया अनुसार सुनिश्चित गरिने बताए ।
उनले नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपालीको लगानीमात्र होइन गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप, ज्ञान र अनुभव उपयोग गर्न सरकार हरतरहमा तयार रहेको बताउँदै गैरआवासिय नेपाली सघसंग सहकार्य गर्न सरकार सदैव तयार रहेको बताए । मन्त्री ज्ञवालीले कोरोनाको अप्रत्याशित विपत्तिबाट देशमा या विदेशमा रहेका नेपाली जनतालाई जोगाउनका लागि सरकारले संघसंग सहकार्य गर्दै उद्धार गरिरहेको बताए ।
जुम प्रविधिबाट गरिएको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक पूर्वमन्त्री बालकृष्ण खाँणले नेपालको लोकतन्त्रको सुदृढीकरणका लागि देशबाहिर रहने नेपालीको भूमिका र समृद्धिका लागि हुने योगदानका बारेमा चर्चा गर्दै एक पटकको नेपाली सधैँको नेपाली भन्ने पक्षमा काँग्रेस रहेको बताए । मुलुक बाहिर रहेका हरेक गैरआवासिय नेपाली मुलुकका लागि सद्भावनादूत रहेको बताउँदै पूर्वमन्त्री खाँणले नेपालको समृद्धिका लागि एनआरएनको भूमिका र योगदान निकै महत्वपुर्ण हुने उल्लेख गरे ।
विभिन्न विषयगत छलफलका क्रममा नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीको सम्पत्ति र राजनीतिक अधिकार’ विषयक अन्तरक्रियाममा कृषि तथा पशुपन्छि विकासमन्त्री घनश्याम भुसालले आउँदो चुनावअघि नै देशबाहिर रहेका नेपालीलाई मताधिकारको सुनिश्चितता गरिने आश्वासन सुनाए ।

मन्त्रि भुषालले राजनीतिक अधिकारबाहेक सबै अधिकारसहितको नागरिकताको व्यवस्था संविधानले नै गरिसकेकाले अहिले प्राप्त यो उपलब्धीलाई आत्मसात् गर्दै यसलाई संस्थागत गर्ने दिशामा अघि बढ्न गैरआवासीय नेपालीसमक्ष आग्रह गरे । सोही सत्रमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले गैरआवासीय नेपालीलाई अधिकार दिने सन्दर्भमा कन्जुस्याइँ गर्न नहुने बताए । उनले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिँदा पनि केही फरक नपर्नेमा जोड दिँदै गैरआवासीय नेपालीका आगामी पुस्तालाई नेपालसँग जोड्न नागरिकताको सन्दर्भमा लगाइएको कतिपय व्यवस्थामा भएका केहि बुँदा हटाउनु पर्ने उल्लेख गरे ।
विभिन्न फरक विषयगत सत्रहरुमा नेपालबाट विभिन्न राजनीतिक पार्टीका नेताहरु त्था विज्ञका साथै अमेरिकाकका लागि नेपाली राजदुत डा अर्जुन कार्की, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गाना, एनआरएनए आइसिसी अध्यक्ष कुमार पन्त, एनआरएन अमेरिका क्षेत्रका संयोजक राजन त्रिपाठी, एनआरएनए अमेरिका क्षेत्रका उपसंयोजक रामसी पोखरेल, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह, एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, आइसिसी सदस्य तथा कार्यक्रम संयोजक गोपीकृष्ण काफ्ले, विज्ञ भेलाका संयोजक डा लक्ष्मी पाठक लगायतले नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपाली संघको योगदानको चर्चा गरेका थिए ।
विभिन्न सत्रहरुमा भएका वियषयगत छलफलहरुमा विश्वभरीका विभिन्न विषयका ज्ञाता तथा आईसिसिका पदाधिकारीहरु उपाध्यक्ष डा बद्री केसी, सोनाम लामा, महासचिव डा हेमराज शर्मा तथा सचिव गौरी जोशी, आईसिसि सल्लहाकार हरिबोल भण्डारीलगायतको सक्रिय सहभागिता रहेको थियो ।
शुक्रबारदेखि तीन दिनसम्म चलेको सम्मेलनको विभिन्न विषयगत कार्यपत्र र विभिन्न सत्रहरुमा छलफलपछि जारी टोरोन्टो घोषणापत्रले समृद्ध नेपाल र गैरआवासिय नेपालीको हक अधिकारमा केन्द्रित रहेको छ । यस्ता क्षेत्रिय स्तरमा हुने सम्मेलन र घोषणापत्रहरु एनआरएनए आइसिसीमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिने प्रचलन रहँदै आएको छ । एनआरएनए आइसिसीले विभिन्न क्षेत्रमा क्षेत्रीय बैठक तथा क्षेत्रीय विज्ञ सम्मेलनको आयोजना गरेपश्चात् आगामी अक्टुबरमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको आयोजना गर्ने गरी महासचिव डा हेमराज शर्माको संयोजकत्वमा छुट्टै समिति निर्माण गरी तयारी गरी रहेको कार्यतालिका यस अघि सार्वजनिक भई सकेको छ । अक्टोबरमा अब हुने अन्तर्राष्टिय विज्ञ सम्मेलन दोश्रो हो । यस सम्मेलनले पुजी मात्रै नभएर समृद्ध नेपालका लागि ज्ञान र सीप हस्तान्तरण गर्ने प्रक्रियामा सहयोग पुग्ने अपैक्षा गरिएको छ । यस्ता सम्मेलनमा विश्वभरका विभिन्न तहमा कार्यरत बैज्ञानिक, डाक्टर, ईजिनियरलगायत विज्ञहरु सहभागी हुने गरेका छन । अमेरिका क्षेत्रको पहिलो विज्ञ सम्मेलन सानफ्रान्सिस्कोमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *