कुटनीतिक असफलताले नेपाल भारत सम्बन्ध कठिन मोडमा

गत वर्ष कार्तिक तेस्रो साता भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि चिसिएको नेपाल र भारतबीचको सम्बन्धमा सुधारको संकेत देखिएको छैन । दुवै देशका उच्च नेतृत्वमा समेत बिग्रिएको सम्बन्ध सुधार्ने पहल पनि हुन सकेको देखिदैंन । यस्तो अबस्थामा हिजो मात्र भारतका विदेशमन्त्रीले गौतम बुद्धको विषयमा दिएको विवादास्पद अभिव्यक्तिले कटुतापूर्ण सम्बन्धलाई थप तरंगित बनाउन मलजल गरेको छ ।
शनिबार भारतका विदेशमन्त्री एस.जयशंकरले गौतम बुद्ध भारतीय नागरिक भएको विवादित अभिव्यक्ति दिएसंगै दुई देशबीचको सम्बन्धमा अविश्वासको खाडल थप गहिरिन पुगेको छ । भारतीय उद्यमी तथा व्यवसायीहरुसंगको भर्चुअल सम्मलेनमा जयशंकरले गौतम बुद्ध र महात्मा गान्धी आजसम्मकै महान भारतीय नागरिक भएको अभिव्यक्ति दिनुभएको थियो ।
यस विषयमा सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नै नरहेको प्रष्ट पारेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई महान् भारतीय नागरिक भनेपछि औपचारिक प्रतिक्रिया दिँदै परराष्ट्रले बुद्धको जन्मभूमि बहसको विषय नै नभएको जनाएको हो । मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा पूर्णरुपमा स्थापित र अकाट्य तथ्य हो कि बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको थियो र बुद्धको जन्मस्थल तथा बुद्धधर्मको प्रादुर्भाव लुम्बिनी युनेस्कोको विश्व सम्पदास्थलमा समेत रहेको उल्लेख गर्नुभएको छ ।
यसैबीच भारतीय विदेश मन्त्रालयले आइतवार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ, भनिएको छ । मिडियाबाट राखिएका जिज्ञासाको जवाफ भनेर जारी गरिएको विज्ञप्तिमा भारतीय विदेशमन्त्रीले नेपाल र भारतबीच रहेको संयुक्त बौद्ध परम्परा र सम्पदालाई इंगित गरेको प्रष्टीकरण पनि दिइएको छ ।
शनिबार नयाँ दिल्लीमा भएको एक कार्यक्रममा भारतीय विदेश मन्त्री जयशंकरले बुद्धलाई महान् भारतीयका रुपमा चित्रण गरेपछि नेपालले यसको विरोध गरेको थियो । भारतीय विदेशमन्त्रीको यो विवादास्पद अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भारतीय विदशमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पु¥याउने कार्य किमार्थ स्वीकार्य नहुने चेतावनी दिनुभएको छ ।
जयशंकरको अभिव्यक्तिप्रति कुटनीतिज्ञ क्षेत्रमा पनि विरोध शुरु भएको छ । परराष्ट्रविद् डा.दिनेश भट्टराईले भारतीय पक्षबाट यसप्रकारका अभिव्यक्ति यसअघि पनि आएको तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६ वर्षअघि नै नेपालको सार्वभौम संसदमा यो विषयमा विवाद टुङ्ग्याईसकेको टिप्पणी गर्नुभयो ।
नेपाल भ्रमणको क्रममा ६ वर्षअघि नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल बुद्ध भूमि भएको र सारा विश्वलाई शान्तिका लागि प्रेरित भएको बताउनुभएको थियो । हुन त कतिपयले भारतका विदेशमन्त्रीको पछिल्लो अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको प्रतिक्रियात्मक भएको टिप्पणी गरेका छन् । पूर्व परराष्ट्रमन्त्री डा.रामशरण महतले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको प्रतिक्रिया स्वरुप भारतका विदेशमन्त्रीको विवादास्पद अभिव्यक्ति आएको हुनसक्ने आशंका गर्नुहुन्छ । शनिबार नै प्रधानमन्त्री ओलीले चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिहरुसंग रामको जन्मुभूमि नेपालको चितवनस्थित माडीको अयोध्यापुरीमै भएको दोहो¥याउंदै त्यहाँ विशाल मूर्ति स्थापना गर्न निर्देशन दिनुभएको थियो ।
परराष्ट्रविद् भट्टराईले भने चर्को कुरा गरेर मात्र दुई देशबीच देखिएको समस्या समाधान नहुने टिप्पणी गर्नुभयो । सिमाना विवादबाट थप बिग्रिन सुरु भएको नेपाल र भारतको सम्बन्ध सुधारको कुनै संकेत देखिएको छैन, झन गहिरिँदै गएको छ । संवादहिनताको वर्तमान अवस्था जारी रहेसम्म समस्या झन् बढ्दै जाने कुटनीतिक क्षेत्रका जानकारहरुको मत छ ।

सेनालाई भारतले दियो भेन्टिलेटर

नेपाली सेनालाई भारत सरकारले १० वटा भेन्टिलेटर उपलब्ध गराएको छ । कोरोना भाइरसविरुद्धको अभियानका लागि सहयोग स्वरुप भारत सरकारको तर्फबाट दुई करोड ८० लाख भारतीय रुपैयाँ बराबरको १० वटा आइसियू भेन्टिलेटर प्रदान गरेको नेपाली सेनाले जनाएको छ । जंगी अड्डामा आज आयोजित कार्यक्रमकाबीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेन्टिलेटर हस्तानतरण गर्नुभएको हो । कोभिड–१९ को महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि सरकारले तय गरेको कोभिड–१९ प्रतिकार्य राष्ट्रिय अभियान योजनालाई सहयोग पु¥याउन भारतले सहयोग स्वरुप भेन्टिलेटर प्रदान गरेको हो । भेन्टिलेटर हस्तान्तरणको क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाईँमा विजय प्राप्तिका लागि नेपाललाई आवश्यक सहयोग पु¥याउन भारत प्रतिवद्द रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *