पृथ्वीको ताप र भाइरसको ‘कोरोनाको विश्वव्यापी महामारी’

सञ्‍जीव उप्रेती

मानव तथा प्रकृतिबीचको अन्तरसम्बन्धलाई ध्वस्त पार्दै गए के हुन सक्छ भन्ने विषयलाई कोरोनाको विश्वव्यापी महामारीले छर्लंग पार्दै ल्याएको छ । यस विश्वमा असंख्य ‘इकोसिस्टम’ छन् । जंगलमा जनावर, चरा, वनस्पति, कीरा फट्यांग्रा, भाइरस, ब्याक्टेरियालगायतका अन्य जीवको एक किसिमको इकोसिस्टम चलिरहेको हुन्छ ।

खोला र दह–किनारमा अर्कै किसिमको। यी असंख्य इकोसिस्टमको भूमण्डलीय सञ्जाललाई जंगल फँडानी, जीवाष्म इन्धन (फोसिल) को प्रयोगले तीव्र बनाएको विश्वव्यापी कार्बन इमिसनजस्ता कृत्यले कहाँ–कहाँ खल्बलाएका छन् भन्ने विषयमा राम्रो अनुसन्धान भएकै छैन। त्यसैले मानवले विश्वको फलानो इकोसिस्टमलाई बिथोलेकाले फलानो महामारी फैलियो भनेर किटान गरेरै भन्न गाह्रो छ। तर, यस्तै भए पनि प्रकृतिको बिनाश तथा महामारी फैलावबीचको अन्तरसम्बन्ध देखाउने केही प्रस्ट आधार छन्।

पहिलो आधार– पुँजीवादी आधुनिकतातिरको दौडसितै मानव तथा चरा, जनावर र विश्वका अन्य प्रजातिको झन्–झन् बढ्दो इन्टरफेस। मानवले व्यापक रूपमा जंगल फँडानी गरेपछि त्यहाँको इकोसिस्टम मात्र बिग्रिएन, मानव तथा अन्य जंगली प्रजातिबीचको जम्काभेट पनिबढ्यो। चीन तथा दक्षिणपूर्व एसियाका केही राष्ट्रमा जंगली जनावर र तिनको मासु बेच्ने बढे–बढे ‘वेट’ मार्केटहरू छन्। यस संसारमा प्यान्गोलिन तथा अन्य दुर्लभ जनावरको मासु खान मन पराउने थुप्रै मानिस छन्। अनि यति मात्रै कहाँ हो र? कसैकसैले त नामै नसुनेका चरा, जनावरलाई खाएर वा तिनको छालालाई बैठक कोठामा सजाएर आफू सम्पन्न भएको धाक लगाउनेसमेत गर्छन्। यस्तै कारणले नै जंगलमा बसोबास गर्ने असंख्य जनावर सहरी बजारहरूमा ल्याइए। मानव तथा अन्य गैरघरपालुवा जनावरको जम्काभेट बढ्दै गयो। बजार तथा जंगलका इकोसिस्टमहरू एकअर्कासित मिस्सिए। त्यसै जम्काभेट वा इन्टरफेसको फलस्वरूप ब्याक्टेरिया तथा भाइरसहरू अन्य प्रजातिबाट मानिसमा ‘जम्प’ गरे वा सरे। सन् २००२ मा चीनमा फैलिएको सार्स रोगझैं हालको कोरोना महामारी पनि चमेराबाट मानवमा सरेको हो भन्ने कुरा उठेको छ। तर, यदि यो सत्य हो भने प्रश्न उठ्छ— चमेराबाट भाइरस मानवमा सर्‍यो नै कसरी? के मानवले जंगल मासेपछि गाउँ–सहर छिर्न विवश भएको चमेराले गर्दा नै भाइरसले अन्तरप्रजातीय ‘जम्प’ लिएको त होइन?

दोस्रो आधार– प्रकृतिको विनाश तथा महामारीबीचको अन्तरसम्बन्ध जनाउने अर्को आधार छ, पर्यावरणमा आएको परिवर्तन र ग्लोबल वार्मिङको मुद्दा। नासाको को गोडार्ड इन्स्टिच्युटले गरेको अध्ययनअनुसार, सन् १८८० देखि अहिलेसम्म पृथ्वीको तापक्रम झन्डै १ डिग्री सेल्सियस बढिसकेको छ। कार्बन इमिसन र जीवाष्म इन्धनको प्रयोग अहिलेजस्तै रहिरहे एक्काइसौं शताब्दीको अन्त्यसम्म तापक्रम ३ अथवा ४ डिग्रीसम्म नबढ्ला भन्न सकिन्न। त्यसो भएमा के–कस्ता नयाँ ब्याक्टेरिया र भाइरसहरू जाग्नेछन्? अर्को शब्दमा भन्दा पृथ्वीको बढ्दो तापक्रमले ब्याक्टेरिया तथा भाइरसमा कस्तो प्रभाव पार्नेछ? उक्त प्रभावले झन् नयाँ किसिमका विपत्ति निम्त्याउने त होइन?

कार्बन इमिसन र जीवाश्म इन्धनको प्रयोग अहिलेजस्तै रहिरहे एक्काइसौं शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम ३ अथवा ४ डिग्रीसम्म नबढ्ला भन्न सकिन्न। त्यसो भएमा बढ्दो तापक्रमले ब्याक्टेरिया तथा भाइरसमा कस्तो प्रभाव पार्नेछ? उक्त प्रभावले झन् नयाँ किसिमका विपत्ति निम्त्याउने त होइन?

यस सम्बन्धमा पर्यावरणविद् डाक्टर डेबिड वालेस वेल्सले केही सम्भावनातिर संकेत गरेका छन्। पहिलो सम्भावना बढ्दो तापक्रमले ध्रुवीय प्रदेशहहरूको हिउँ पग्लिँदै जानेछ। हिउँ पग्लिएपछि हजारौं वर्षदेखि बरफमुनि दबेर बसेका हानिकारक भाइरस बाहिर निस्किन सक्छन्। २ करोडभन्दा बढी मानिसको ज्यान लिएको सन् १९१८ को स्पेनिस फ्लुको भाइरस १०० वर्षपछि क्यानाडामा हिउँमुनि भेटियो। बीबीसी वर्ल्ड सर्भिसको स्रोतअनुसार, साइबेरियाको हिउँमा ३२,००० वर्षदेखि दबेर निष्क्रिय रहेको भाइरस २०१४ मा फ्रान्सको एउटा प्रयोगशालामा पुन: सक्रिय भएको देखियो। बिफरको भाइरससमेत साइबेरियाको हिउँमुनि दबेर रहेको आशंका छँदै छ। पृथ्वीको तापक्रम बढेर हिउँ पग्लिएपछि ति पराकालीन भाइरस आधुनिक संसारमा फेरि जाग्न सक्छन्। न तिनलाई बन्दुक वा बम हानेर मार्न सकिन्छ, न मिसाइल चलाएर हराउन।

दोस्रो सम्भावना– भूमध्यरेखाको २३ डिग्री उत्तर तथा २३ डिग्री दक्षिण गोलाद्र्धको भूभागलाई ‘ट्रोपिकल जोन’ भनिन्छ। बढी गर्मी तथा अत्यधिक उष्णता हुने यस प्रदेशमा हरेक वर्ष १० लाख मानिस मलेरियाबाट अझै संक्रमित हुने गर्छन्। तर, पृथ्वीको तापक्रम बढेकाले ट्रोपिकल जोन हरेक १० वर्षमा ३० किलोमिटरको दरले बिस्तारित हुँदै छ। यही क्रम चलिरहे पहिले कम गर्मी हुने थुप्रै ठाउँहरूमा पनि सन् २०५० सम्म पुग्दानपुग्दै ट्रोपिकल जोनकै झैं गर्मी र उष्णता हुनेछ। त्यसो भए मलेरियाले आक्रमण गर्न सक्ने पृथ्वीको कुल छेत्रफल पनि विस्तारित हुँदै जानेछ। विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार, सन् २०३० सम्म १ करोड थप मानिस मलेरियाबाट संक्रमित हुनेछन्।

तेस्रो तथा सबैभन्दा डरलाग्दो सम्भावना– मानव शरीरमा असंख्य ब्याक्टेरिया हुन्छन्। तीमध्ये ९९ प्रतिशत ब्याक्टेरियालाई त मानव विज्ञानले अहिलेसम्म राम्ररी बुझ्नसमेत सकेको छैन। सामान्य अवस्थामा मानव शरीरमा रहेका ती ब्याक्टेरियाले प्राय: शरीरलाई हानि पुर्‍याउँदैनन्।

तर, पृथ्वीको तापक्रम बढ्दै गएमा अवस्था सामान्य रहनेछैन। सन् २०१५ मा सेन्ट्रल एसियामा मात्र हुने साइगा प्रजातिको हरिणको दुई तिहाइ जनसंख्या एक हप्तामै सखाप भएको, नेपालको भू–भागभन्दा ठूलो क्षेत्रमा साइगा हरिणका लास यत्रतत्र भेटिएका घटना त्यति पुराना भएका छैनन्। अनुसन्धानले देखाएअनुसार, हरिणहरूको मृत्युको कारण तिनको टन्सिलमा रहने ब्याक्टेरिया सक्रिय हुनु थियो। हजारौं वर्षसम्म सक्रिय नभएका ब्याक्टेरिया किन अचानक जागेर समस्त प्रजातिको दुई तिहाइ सखाप भयो त? पछि बुझ्दा थाहा भयो— २०१५ मा रुस तथा उज्बेकिस्तानलगायतका सेन्ट्रल एसियामा रहेको त्यस क्षेत्रमा सन् १९४८ पछि अति गर्मी भएको रहेछ। बाहिरको तापक्रम गर्मिएपछि हरिणको शरीरभित्रको इकोसिस्टम खल्बलिँदा ब्याक्टेरियाहरू जागेका रहेछन्। मानव शरीरको पनि आफ्नै इकोसिस्टम हुन्छ। सामान्यत: शरीरको तापक्रम ९८.६ फरेन्हाइट हुनुलाई नर्मल मानिन्छ र १००.४ भन्दा माथि हुनुलाई ज्वरो आएको अवस्था। इन्फेक्सन वा अन्य कारणले शरीरको तापक्रम बढेमा मेडिकल विज्ञानले त्यस्तो शरीरलाई अस्वस्थ मान्छ। अहिलेसम्म पृथ्वीको तापक्रम १ डिग्री बढ्दा पनि मानव शरीरभित्रका ब्याक्टेरिया जागेका छैनन्। तर, तापक्रम ३ अथवा ४ डिग्री बढे के होला? के मानव शरीरका ब्याक्टेरिया पनि साइगा हरिणको शरीरमा रहने ब्याक्टेरियाझैं जाग्ने त होइनन्?

अहिले लगातार उक्लिँदै गएको कोरोना संक्रमण दर र मृत्युको रेखालाई कसरी ‘फल्याट’ वा समतल गर्दै लैजाने, संक्रमण दर कसरी घटाउने भनेर सबै देशका सरकार लागिपरेका छन्। तर, के पृथ्वीको तापक्रमको उक्लँदो रेखालाई पनि फल्याट गर्दै लैजानु पर्दैन र? पर्यावरणविद्हरूले जी–७ का सदस्यलगायतका अन्य उच्च कार्बन उत्पादन गर्ने देशहरूलाई पृथ्वीको तापक्रम खतरनाक ढंगले बढिरहेको छ भनेर चेतावनी दिन थालेको त ४० वर्षभन्दा पनि बढी भयो। तर, पर्यावरणको संरक्षण गर्न कडा नियम लागू गरे पेट्रोलियमको विश्वव्यापी व्यापार र त्योसित जोडिएका अन्य व्यापारिक क्षेत्रमा मुनाफा कम होला भन्ने डरबाट त्रस्त पुँजीपतिहरूको रकमी लबिइङले विकसित राष्ट्रका राष्ट्राध्यक्षहरू दशकौंदेखि कानमा तेल हालेर बसिरहेका छन्। हालको कोरोना महामारीको सन्दर्भमा पनि इटाली, स्पेन, बेलायत तथा संयुक्त राज्य अमेरिकाजस्ता मुलुकका राष्ट्रिय स्वास्थ्य सल्लाहकारहरूले लकडाउनको सल्लाह फेब्रुअरीको अन्त्यतिरै दिएका थिए भन्ने प्रकाशमा आएको छ। तर, लकडाउनले अर्थतन्त्र तल जाला र स्टक मार्केटको दाम घट्ला भनेर बढीजसो मुलुकमा बन्दाबन्दी निकै ढिलो मात्र सुरु गरियो। जब सुरु गरियो, त्यतिन्जेलमा भाइरसहरू देश–देशका सीमा छिछोल्दै संसारभरि फैलिइसकेका थिए।

कोरोना भाइरसको रोकथाम गर्न ढिलाइ गर्ने विकसित कहिलिएका पश्चिमी मुलुकका सरकारहरूले पृथ्वीको बढ्दो तापक्रमको विकट समस्यासित भिड्न पनि धेरै नै ढिलो गरिसकेका त होइनन्? के सन् २१०० सम्म यस विश्वको तापक्रम ३ अथवा ४ डिग्री नै बढिसक्नेछ? पर्यावरणविद् डाक्टर एलेक्स पिगोटको भनाइअनुसार, यदि त्यसो भएमा संसारका १५ प्रतिशत इकोसिस्टमहरू ध्वस्त हुनेछन् र ७३ प्रतिशत जीवजन्तुलाई यस ग्रहमा बाँच्न अत्यन्त दुष्कर हुनेछ।

अहिलेको समय विभिन्न राष्ट्रले कोरोना भाइरस कहाँबाट सुरु भयो, कुन देश वा संस्थाको असावधानीले गर्दा फैलियो भनेर एकअर्कालाई दोषारोपण गर्ने समय होइन। कोरोनाको त्रास कम भएपछि यस विषयमा अनेकौं अध्ययन र विश्लेषण हुने नै छन् र हुनु पनि पर्छ। तर, अहिलेको समय भनेको सबै राष्ट्रहरू मिलेर कोरोना मात्र नभई कार्बन इमिसन तथा ग्लोबल वार्मिंङलगायतका मानव–प्रकृति अन्तरसम्बन्धका मुद्दामा सहकार्य गर्नु हो। उपचारका उपाय र मेडिकल तथ्यांक साटासाट गर्नु हो। हतियार र राष्ट्रिय सुरक्षा सिस्टममा लगाइने असीमित रकम कटाएर सार्वजनिक स्वास्थ्य तथा पर्यावरणसित जोडिएका प्रविधि, संरचना र जनशक्तिको विकासका निम्ति खर्च गर्नुपर्ने समय हो।

उपलब्ध तथ्यांकअनुसार, २०१९ मा संयुक्त राज्य अमेरिकाको मिलिटरी बजेट ७१५ बिलियन अमेरिकी डलर थियो, यही वर्ष चीनले मिलिटरीमा १७७ बिलियन खर्च गर्‍यो भने भारतले झन्डै ७० बिलियन। २०१८ मा संसारभरि मिलिटरीमा १८२२ बिलियन डलर खर्च भएको थियो। यो तथ्यांकलाई अर्कोसित जुधाएर हेरौं— संसारको साढे सात खर्बभन्दा बढीको कुल जनसंख्या मा १ खर्ब मानिस (हरेक सात मानिसमा एक जना) अहिले पनि झुपडपट्टीहरूमा बस्छन्, बीसौं लाखभन्दा बढी मानिस बस्ने ठाउँ नै नभएर सडकछेउ रात बिताउँछन्। हरेक दिन १५ हजारभन्दा बढी मानिस त खान नपाएरै मर्छन्। के यस्तो अवस्थामा हतियार र सेनामा १८२२ बिलियन डलर खर्च गर्नु जायज हो? यस्तो तथ्यांकले मानव सभ्यता कति असभ्य बन्दै गएको रहेछ भन्ने देखाउँदैन? यदि यही काम कुनै देशले नगरेर व्यक्तिले गरेको भए के हुन्थ्यो? घरमा खानेकुरा र लुगा–कपडाको साटो हतियार जम्मा गर्न थाले, रोग फैलने सम्भावना भएको बेला सिटामोलको जुगाड गर्न छाडी लाठी र बन्दुकको प्रबन्ध गर्न थाले, त्यस्तो व्यक्तिलाई संसारले पागल भन्दैनथ्यो र? यदि हो भने त यो संसार नै पागल देखियो १

सैन्य शक्तिको प्रवर्द्धनका निम्ति खर्च गरिने रकम कृषि, स्वास्थ्य र पर्यावरणसित जोडिएका प्रविधिको विकास गर्नमा लगाएको भए संसारमा कोही पनि भोकै मर्ने थिएनन्। कोरोनाको महामारी आइलाग्दा पनि सम्पूर्ण विश्व त्योसित जुध्न हालको भन्दा धेरै तयार हुने थियो। त्यसैले पनि यो हाम्रा विश्व दृष्टिहरूलाई पुनर्मूल्यांकन गर्ने समय हो। यो समय पुँजीवादको उपभोक्ता संस्कृतिलाई पुनर्मूल्यांकन गर्ने समय पनि हो।

भूमण्डलीय भविष्यको क्षितिजमा अहिले हामीले नामै नसुनेका झन् डरलाग्दा भाइरस तथा ब्याक्टेरिया सल्बलाइरहेका हुन सक्छन्। तीमध्ये कुनै पग्लिन थालेको हिउँबाट बाहिर निस्कन सक्छन् त कुनै पृथ्वीको बढ्दो तापक्रमले मानव शरीरभित्रै जाग्न सक्छन्। यो मानवले फाइदा–नोक्सानको अंकगणितबाट बाहिर निस्केर आउन सक्ने नयाँ विपत्तिविरुद्ध अहिलेदेखि नै तयारी गर्दै अघि बढ्नुपर्ने समय हो। यो संसारमा चलिरहेका विभिन्न किसिमका ‘सामाजिक पागलपन’ विरुद्ध मोर्चाबन्दी गर्दै प्रकृति र मानवबीचको अन्तरसम्बन्धलाई नयाँ ढंगले बुझ्नुपर्ने समय हो।

from kantipur dally

Leave a Reply

Your email address will not be published. Required fields are marked *