कोरोना भाइरस आशंकामा नेपालमा ४७८ जनाको नमुना परीक्षण: सार्कआपतकालीन कोष पनि स्थापना

 

शारदा खत्री
काठमाडौं, कोरोना भाइरस संक्रमण आशंकामा नेपालमा अहिलेसम्म ४७८ जनाको नमुना (रगत/र्‍याल) परीक्षण गरिएको छ। तर सबैको रिपोर्ट नेगेटिभ अर्थात् कारोना भाइरस नभएको आएको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले सोमबार बिहान दिएको जानकारीअनुसार पछिल्लोपटक आइतबार साँझ ११ जनाको नमुना परीक्षणको रिपोर्ट आएको छ।

योसमेत गरेर अहिलेसम्म नेपालमा ४ सय ७८ जनाको कोरोना परीक्षण गरिएको उनले जानकारी दिए।

‘अहिलेसम्मका सबै रिपोर्ट नेगेटिभ आएका छन्,’ प्रयोगशालाका सूचना अधिकारी गुप्ताले भने, ‘अब आज फेरि परीक्षण गरिनेछ।’ उनका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानका अस्पतालहरूबाट दैनिक १५ देखि २० वटासम्म नमुना कोरोना परीक्षणका लागि प्रयोगशाला (टेकु)मा आउने गरेका छन्।

‘नमुना संकलन काउन्टर २४सै घण्टा खुला छ,’ उनले भने, ‘अहिले पनि ५/७ वटा नमुना आइसकेका छन्।’

उनका अनुसार काठमाडौं उपत्यकास्थित सरकारी अस्पताललगायत नेपालका विभिन्न जिल्लास्थित ५/७ वटा अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको छ।

ती अस्पतालले शंका लागेका बिरामीलाई आइसोलेसन वार्डमा भर्ना गरी उसको नमुना परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाउँछन्।

सुरुमा स्वास्थ्य परीक्षण गराएका कोरोना भाइरसको उद्गमस्थल चीनको उहानबाट आएका एक नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। तर उपचारपछि उनी निको भएको सरकारले दाबी गरिरहेको छ।

त्यसपछि चीनकै उहानलगायत विभिन्न सहरबाट उद्धार गरी ल्याइएका १७५ विद्यार्थीलाई १४ दिनसम्म खरिपाटी (भक्तपुर) क्वारेन्टाइनमा राखी नमुना परीक्षण गर्दा उनीहरूमा पनि कोरोना संक्रमण देखिएन।

त्यसयता अहिलेसम्म परीक्षण गरिएका कसैमा पनि कोरोना संक्रमण नपाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

कोरोनासंग लड्न सार्क आपतकालीन कोष पनि स्थापना

 दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका सरकार प्रमुखहरूले विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा आइतबार आयोजित भिडियो कन्फरेन्सबाट कोरोनाविरुद्ध मिलेर लड्न सार्कस्तरीय आपतकालीन कोष पनि स्थापना गरिएको छ।

मोदीले कोष स्थापनाको प्रस्ताव गर्दै प्रारम्भमा भारतले एक करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेपछि सार्कका अन्य सदस्य राष्ट्रका सरकार प्रमुखले पनि त्यसमा सहयोग गर्ने प्रतिबद्धता जनाए। कोषमा सार्कबाहेक अन्य राष्ट्रहरुले पनि सहयोग गर्न सक्नेछन्। यो कोष सार्क क्षेत्रमा कोरोनाविरुद्ध लड्न प्रयोग गरिनेछ।

 

मोदीले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत कोरोनाविरुद्ध एक भएर लड्न सार्क सदस्य राष्ट्रका नेतासमक्ष प्रस्ताव राखेका थिए। उनको प्रस्तावमा सबै सदस्य मुलुकले समर्थन जनाएपछि त्यसबारे आइतबार साँझ भिडियो कन्फरेन्स गरिएको हो। कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले कोरोनाका कारण गम्भीर चुनौती सामना गर्नुपरिरहेको भन्दै आगामी दिनमा अवस्था कस्तो सिर्जना हुन्छ भन्ने अनुमान गर्न नसकिने बताए। उनले कोरोनाविरुद्ध संयुक्त रुपमा लड्न सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (विपद् व्यवस्थापन केन्द्र) लाई प्रयोगमा ल्याउन सकिने धारणा व्यक्त गरे। उनले केन्द्रमार्फत कोरोनाविरुद्धको संयुक्त लडाइँँलाई अघि बढाउन सकिने बताए। उनले सार्कस्तरीय साझा अनुसन्धान केन्द्र स्थापना गर्न सकिने र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) ले यसको संयोजनमा सघाउन सक्ने पनि बताए। उनले कोरोना पहिलो र अन्तिम प्रकोप नभएको भन्दै दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले कोरोनाका कारण यस क्षेत्रमा दीर्घकालीन रुपमा पर्नसक्ने आर्थिक प्रभावको मूल्यांकन गर्न पनि विज्ञलाई निर्देशन दिए। मोदीको प्रस्तावलाई सार्कका सबै सदस्य मुलुकले अनुमोदन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *